प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं,
असोज १४ ।

प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज (बुधबार) दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न मन्त्रालयका विधेयकहरू दफावार छलफलका लागि समितिमा पठाउने वा पारित गर्ने कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

जसमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ रहेका छन् ।

यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैबीच, आज सङ्घीय संसद्अन्तर्गतका विभिन्न चार वटा संसदीय समितिको बैठक पनि बस्दै छ।

सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

अन्य समाचार