मलाई नबुझ्नेले र पहिलोपटक देख्नेले घमण्डी भन्छन : प्रतिमा अर्याल, लोक तथा दोहोरी गायिका

काठमाडौं,
साउन २४ ।

‘ओइ गनगन, सेतो सेतो कमेरो माटो, बग्यो खोली, चामलको कनिका’लगायत धेरै गीतमा स्वर भर्नुभएकी प्रतिमा अर्याल प्रत्यक्ष दोहोरीमा समेत आब्बल हुनुहुन्छ । सानैदेखि गायिका बन्छु भनेर यो क्षेत्रमा निरन्तर लाग्नुभएकी उहाँलाई यो क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त हुँदै गयो । आफूलाई नबुझ्नेले र पहिलोपटक देख्नेले घमण्डी भएको बताउने प्रतिमा अर्यालसँग मिलापका लागि किरण अधिकारीले गर्नुभएको अन्तरंग कुराकानीको संक्षिप्त अशंः-

के गर्दैहुनुहुन्छ आजकाल ?
नयाँ गीतको तयारीमा छु । बिभिन्न स्टेज कार्यक्रम अनि आफ्नो दैनिक काममा नै व्यस्त छु । तीज पनि नजिक आउँदै छ, त्यताको काममा व्यस्त छु ।

यो क्षेत्रमा कहिलेदेखि र कसको प्रेरणाले आउनुभयो ?
गीत सङ्गीतको क्षेत्रमा लाग्ने मेरो सानैदेखि नै ईच्छा थियो । तर, औपचारिकरुपले लागेको १२ बर्ष भन्दा बढी भयो । म सानैदेखि लागेपनि कसरी अगाडी बढ्ने कुरामा दुविदामा थिए । गीत रेकर्ड कसरी गर्ने, कहाँ गर्ने ? भन्ने थाहा थिएन । त्यही अलमल परिराको बेला गायक राजु बिरही दाजु जो मकानापुर हेटौडाको हुनुहुन्हुन्छ, जसको गीत म सुनिरहन्थे । उहासँग सामाजिक सञ्जालमा जोडिने मौका पाए त्यसपछि मैले गीत रेकर्ड गर्ने मौका पाए । त्यसैले उहाँलाई मैले यो क्षेत्रको गुरु पनि मान्छु । त्यहाँबाट शुरु भएको मेरो यात्रा आजसम्म निरन्तर छ र निरन्तर भइरहनेछ ।

अहिलेसम्म कति गीतहरू गाउनुभयो ? केही गीतमा अभिनय पनि गर्नुभएको छ होइन ?
अहिलेसम्म करिब चारसय जति गीतमा स्वर दिएको छु । कति गीत बजारमा आएको छ कति आउँन बाँकी छ । प्रत्यक्ष कार्यक्रमहरूमा सहभागी भइरहेको थिए । हो केही गीतमा अभिनय गरेको छु । रहर लागेर नै लगभग आधा दर्जन गीतमा आफैँले अभिनय पनि गरेको छु । रहर हरेक कुरामा हुन्छ तर आफू भित्र पनि क्षमता हुनुपर्छ ।

फरक प्रसङ्गमा जाउ, यो क्षेत्रमा महिलाहरूमाथि शोषण हुन्छ भन्ने सुनिन्छ नि ?
मैले यो कुराहरू बेलाबेलामा समाचारमार्फत सुन्छु । यहाँ धेरै किसिमको मान्छे हुन्छन । पाईला पाईलामा बचेर हिँड्न पर्छ । शोषण भन्ने कुरा आफूले आफूलाई सही ठाउँमा राख्दै अगाडी बढ्यो भने हुँदैन । आफूलाई कमजोर बनायो भने हुन्छ । आफू सही ठाउँमा उभिएर मिहिहनेत गर्ने हो भने यो कुरा आउँदैन ।

कलाकार हुन् के कुराको आवश्यक पर्छ, रुप र पैसा भए पुग्छ भन्ने कुरा छ ? बास्तबिक कुरा के हो ?
सबै भन्दा पहिला कला र गला हुनुपर्छ । अनि प्रतिभा देखाउने सही स्थान पनि हुनुपर्छ । आफैँले आफैँलाई कलाकार भनेर हुँदैन सर्बसाधारणले भनिदिनुपर्छ । रुप र पैसाले मात्र कलाकार हुने भए हेर्दै चम्कने अनि बिना मेकअप नै कलाकार झैँ देखिने सबै मान्छे कलाकार हुन्थे । मलाई त्यस्तो लाग्दैन । पैसा र बैशले कलाकार भएकाहरू खहरे खोला हो । ठूलो पानि पर्दा एक छिन बाढी आउन सक्छ तर त्यो निरन्तर हुन सक्दैन । कलाकार हुनको लागि मिहिहनेत र ईच्छाशक्ति हुनुपर्छ कला र गला हुनपर्यो ।

यो क्षेत्रमा आउन चाहने नयाँ प्रतिभाहरूलाई के भन्न चाहनुहुन्छ ?
अहिलेको जवानामा अर्ति उपदेश कसले कसको सुन्छ र ! आफूसँग प्रतिभा छ भने भोली गएर पछुतो मान्न पर्दैन भने अनि मिहिनेत गरेर अगाडी बढ्न सक्छु भन्ने छ भने आउनुहोस् । बाबुआमाले दिएको पैसा र आफूले कमाएको पैसा मात्र खेर फाल्न न आउनुहोस ।

गीत सङ्गीतले तपाईंलाई के दियो र तपाईंले के दिनुभयो ?
मलाई गीतसङ्गीतले धेरै चिज दिएको छ । हिजो हेटौडामा पनि सबैले नचिन्ने प्रतिमालाई आज संसारभर चिनाएको छ । यही पेसाले मलाई बाच्न सिकाएको छ । दर्शक र श्रोताको मनमा बस्न सफल भएको छु । तर, मैले सोचेअनुसार समय दिन नसकेर होला गीत सङ्गीतलाई मैले केही दिन सकेको जस्तो लाग्दैन ।

यो क्षेत्रमा लागेर कतिको सन्तुष्ट हुनुहुन्छ ?
आफूले रोजेर लागेको क्षेत्रमा सन्तुस्ट नहुने भन्ने कुरा छैन् । मेरो कर्म र ज्यान यही हो भनेर लागेको छु ।

प्रेम के हो तपाईंको विचारमा, कतिको प्रेम प्रस्ताब आउछ ?
प्रेमको परिभाषा दिन अति नै गाह्रो छ । तपाईंले सोधे अनुसार हो भने प्रेम सुख दुःख साट्ने माध्यम हो । एकले अर्कोलाई एक आपसमा सहयोग अनि मर्म बुझेर अगाडी बढ्नु नै प्रेम हो । प्रेम प्रस्ताबको सबालमा प्रस्ताब आउदैन भनेर म भन्दिन किनकी फूलेको फूलमा भमरा आउनु स्वाभाविक हो । अर्को कुरा मेरो रुप र मालाई भन्दा पनि मेरो कला र गालालाई उक्त प्रस्ताब आएको हो भन्ने बुझ्छु म ।

प्रतिमा अर्याल घमण्डी छ भन्छन नि ?
पहिलो पटक देख्नेले भन्ने प्रायः यही नै हो । किनकि आफ्नो बानि अरुलाई थाहा हुँदैन । म त्यस्तो छैन किनकी घमण्डी बनेर प्रगति हुँदैन भन्ने बुझेकी मान्छे हो प्रतिमा ।

यसमा तपाइको मत

अन्य समाचार