✍️ नवीन किरण भुसाल
पोखरा
आश्विन ९ ।
माछापुच्छ्रे-६ भेडाबारीका ७५ वर्षीय डिल्लीराम सापकोटा बिगत लामो समयदेखि बाथरोगको (घुडा दुख्ने) समस्याले ग्रसित थिए । बिगत दुई वर्ष अघि पोखरा स्थित एक अस्पतालमा सुई लगाएर उपचार पश्चात केही राहत त भयो तर समस्या फेरि बल्झिइरहन्थ्यो ।
यस पटक भने उनी उपचारका लागि गाँउ बाहिर कतै गएनन । आफ्नै गाँउमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे । उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको छनौटमा आयुर्वेद र आधुनिक चिकित्साको संयुक्त प्रयोगबाट एकिकृत स्वास्थ्य सेवा प्रदान गर्ने अवधारणाका साथ एक जना आयुर्वेद चिकित्सक र एक जना सहयोगी नियुक्त गरी सेवा प्रारम्भ गरिएको थियो ।
सापकोटाले दैनिक एक हप्ता आयुर्वेद चिकित्सामा आधारित पञ्चकर्म बिधि अन्तर्गत स्नेहन, स्वेदन (आयुर्वेदिक औषधिहरूको बाफ र तेल लगाएर उपचार गर्ने विधि)बाट उपचार सेवा लिन सुरु गरे साथै चिकित्सकको निर्देशन अनुसार स्वास्थ्य बीमा बाट प्राप्त हुने आयुर्वेद औषधिहरुको सेवन गर्न थाले । उनलाई आयुर्वेद विधिबाट उपचार गराउँदा राहत मिलेको महसुस हुन थाल्यो । घुँडाको समस्यासँगै उनलाई पिनासले पनि सताई रहेको थियो केही दिनको जलनेती चिकित्सासँगै आयुर्वेद उपचारले हाल उनी पिनासको समस्याबाट पनि मुक्ति मिलेको बताउछन । प्राथमिक स्वास्थ्य केन्द्रमा यस आयुर्वेद पद्धतिबाट उपचार पश्चात सन्तुष्टि व्यक्त गर्ने सापकोटा एक प्रतिनिधि पात्र मात्र हुन ।
बिशेषगरी दीर्घरोगहरूमा आयुर्वेद चिकित्सा विधि अन्तर्गतका थेरापीहरू साथै आयुर्वेद औषधिहरूको प्रयोगबाट उपचार गर्दा बिरामीहरूलाई धेरै नै राहत मिलेको मैले प्रत्यक्ष हेरको छु, देखेको छु । साथै हामी आधुनिक र आयुर्वेद चिकित्सकसँगै रहेर काम गर्दा सेवा ग्राहीलाई धेरै नै राहत पुगेको छ भन्नुहुन्छ उक्त प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा. विजय श्रेष्ठ ।

उक्त स्वास्थ्य केन्द्रमा बिगत पाँच बर्षदेखि कार्यरत लक्षमण दाहालका अनुसार स्वास्थ्य केन्द्रमा आयुर्वेद सेवा प्रारम्भ गर्दाको सुरुवाती चरणमा आयुर्वेद चिकित्साको लागि आवश्यक व्यवस्थित पूर्वाधार, जनशक्ति साथै औषधिहरुको सिमितताले गर्दा सेवा सञ्चालनमा कठिनाई भएको थियो । सबैको साझा पहलमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम मार्फत निःशुल्क वितरण हुने औषधिहरूसँगै आयुर्वेद औषधिहरूको पनि उपलब्धता समावेस भए पश्चात चिकित्सकको सिफारिस वमोजिम बीमा मार्फत सूचिकृत आयुर्वेद औषधिहरूको निःशुल्क रुपमा उपलब्ध हुने गरेको छ । स्थानीय जडिबुटीहरूको प्रयोगसँगै औषधीय तेलहरू निर्माण गरेर सेवा प्रवाह भइरहेको छ । जसले गर्दा हाडजोर्नी, नशा, बाथ आदी समस्याहरूमा यो सेवा बिशेष प्रभावकारी देखिएसँगै सेवा ग्राहीहरूको सङ्ख्यामा बृद्धि हुँदै गएको छ र समग्र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने सेवा ग्राहीहरूको सङ्ख्यामा उलेख्य बृद्धि भएको छ ।
✍️ नवीन किरण भुसाल
माछापुच्छ्रे गाँउपालिकाभर सरकारी तवरवाट सञ्चालित आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने कुनै पनि संरचना थिएन । प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको छनौटमा यस भेडावारी प्राथमिक स्वास्थ्य केन्द्रबाट आयुर्वेद चिकित्सासहितको एकिकृत सेवा सञ्चालन भएसँगै यहाँका स्थानीय बासिन्दालाई राहत महसुस भएको र अब यो सेवा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँगको सहकार्यमा स्थानीय वडास्तरसम्म पुर्याउने योजनामा रहेको रहेको बताउनुहुन्छ माछापुच्छ्रे गाँउपालिका उपप्रमुख कृष्ण कुमारी पौडेल दवाडी ।
प्राथमिक स्वास्थ्य केन्द्रको पछिल्लो तीन बर्ष देखिको बिरामी तथ्याङ्क हेर्दा आ. व. ०७४/७५ मा ७ हजार ४ सय ४९ जना आ. व. ०७५/७६ मा ८ हजार १ सय ७९ जना र आ. व. ०७६/७७ मा १० हजार ९ सय ३० जनाले सेवा लिएका छन । उल्लेखित तीन वटा आ. व. मध्ये आयुर्वेद सेवा सञ्चालन ०७५/७६ को जेष्ठ र आषाढ दुई महिना मात्रै भएको थियो । साथै आ. व. ०७६/७७ को पुरै अवधि सेवा सञ्चालन भए पनि विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीको प्रभावले केही समय सेवा प्रभावित भएको केन्द्रका आयुर्वेद चिकित्सक डा. अनिल थापाले बताए ।
आ. व. ०७६/७७ को कुल सेवा ग्राही सङ्ख्या १० हजार ९ सय ३० मध्ये आयुर्वेद सेवा लिनेहरूको सङ्ख्या २ हजार ६ सय ४८ रहेको छ । जुन कुल सेवाको २४.२ प्रतिशत हो । स्वास्थ्य केन्द्रमा आएका सेवा ग्राहीहरूको तथ्याङ्कलाई तुलनात्मक अध्ययन गरी हेर्दा आयुर्वेद चिकित्सा सेवा सहितको एकिकृत सेवा सञ्चालन पश्चात सेवा ग्राहीहरुको सङ्ख्यामा उलेख्य वृद्धि भएको देखिन्छ । स्वास्थ्य केन्द्रमा ल्वाङ घलेल, धिताल, रिवान, लाचोक, घाचोक देखिका बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
संरचना र जनशक्ति अभाव
केन्द्रमा कार्यरत आयुर्वेद चिकिसक डा. अनिल थापाकाअनुसार पछिल्लो समय आयुर्वेदिक उपचार विधितर्फ विश्वास बढ्न थालेको छ । सेवाको प्रभावकारिता र जनमानसको विश्वास बढेसँगै गुणस्तरीय र प्रभावकारी सेवा विस्तार गर्न जरुरी छ । तर, एक जना आयुर्वेद चिकिसक र एक जना सहायकको भरमा बढदो सङ्ख्यामा रहेका बिरामीहरूलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रबाहमा कठिनाई हुनेगरेको छ । यो विधिबाट उपचार ठिक हुन्छ भनेर आएका कतिपय सेवा ग्राहीहरूले महिला र पुरुषका लागि बेग्लाबेग्लै स्वास्थ्यकर्मी र उपचार कक्ष नहुँदा उपचार विधिमा विश्वास बढे पनि सेवा प्राप्त गर्दा असहज महसुस गर्ने गरेका छन् ।
लगानी बढाउदै प्रदेश सरकार
सरकारले पछिल्लो समय आयुर्वेद क्षेत्रमा लगानी बढाइरहेको छ । पोखरामा-२६ कास्कीमा जडिबुटी प्रशोधन केन्द्र साथै बिशेषज्ञ सेवा सहितको प्रादेशिक चिकित्सालय स्थापनाको लागि जग्गा प्राप्ति भइसकेको छ यस बर्ष डी.पि.आर. सम्पन्नगरी कार्यारम्भ गर्ने कार्यक्रम रहेको छ । आयुर्वेद क्षेत्रको बिकासमा यो एउटा ऐतिहासिक कदम रहने छ । प्रदेश मातहतमा सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूबाट सञ्चालन हुने कार्यक्रमहरू थप भएका छन् । सघीय ससर्तको PHC मा जीवनशैली व्यवस्थान कार्यक्रम अन्तर्गत माछापुच्छ्रे गाँउपालिका- ६ धितालमा रहेको भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित यस कार्यक्रमलाई चालु आ. व. मा प्रदेश सरकारले थप बजेट बिनियोजनगरी स्थानीय गाँउपालिकाको सहकार्यतामा सेवा बिस्तार गर्ने तयारीमा छ ।
गण्डकी प्रदेशमा सरकारी तवरबाट सञ्चालित आयुर्वेद संरचनालाई हेर्ने हो भने एघार वटा जिल्लाहरूमा एक-एक जना आयुर्वेद चिकित्सक रहनेगरी आयुर्वेद केन्द्रहरू सञ्चालित छन् । स्थानीय स्तरमा आयुर्वेद औषधालयहरू रहेका छन् । मौजुदा संरचना अन्तर्गतका सबै सस्थाहरूमा समयानुकुल आवश्यक दरबन्दी व्यवस्थापनसहित सस्थाहरूको स्तरोन्नतिगरी गुणस्तरीय र प्रभावकारी आयुर्वेद चिकित्सा सेवा प्रवाह गर्नुपर्ने देखिन्छ । तर, विडम्बना मौजुदा दरबन्दीमै पनि ठूलो सङ्ख्यामा रिक्तताको अवस्था छ । अझ गण्डकी प्रदेश मा रहेका कुल ८५ वटा स्थानीयतहहरू मध्ये ३८ वटा स्थानीय तहहरूमा आयुर्वेद सेवा प्रदान गर्ने कुनै पनि संरचना नरहेको अवस्था छ । आवश्यक दरबन्दी र जनशक्तिको व्यवस्थानसहित प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह हुन सक्ने सवल र सक्षम संरचनाहरुको निर्माणसँगै आयुर्वेद चिकित्सा सेवाको पहुचबाट टाढा रहेका नागरिक समक्ष सेवा पुर्याउनको लागि भेडावारी मोडेललाई एउटा उत्तम बिकल्प मान्न सकिन्छ की !






