सर्जक अमर बान्तुका थुप्रै गीत स्रोता-दर्शकमाझ लोकप्रिय छन् । कवि एवम् गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरु’ (केही गीत, केही कविता) सङ्ग्रह कृति पनि पाठकमाझ ल्याएका छन् । थुप्रै फुटकर गीत र कविता पाठकमाझ ल्याएका उनको ‘परिभाषाका राँटाहरु’ पहिलो काव्यकृति हो ।
बुबा लक्ष्मीप्रसाद राई र आमा वृन्दा लक्ष्मी राईका ७ सन्तानमध्येका काइँला छोरा हुन् अमर । भोजपुर दिल्पा नागीं जन्म भई हाल ललितपुर मानभवन बस्ने अमरका आमाको महिमा, हाम्रो वैभव, पचास वर्ष पुग्दाको अनुभव, अपुरो सपना, उर्वशीकी छोरो, घात, फूलमा फिक्का, जीवन सङ्गीनी, भोजपुरैको बजारमा, लाहुरेको कथा, बिर्सनु गाह्रो, किन टाढियौ, यौवनको लाज, अधुरो सपना, गणितीय माया, मीठो पागलपन, उपमा, दुःखी भई, अधुरो अभिसार, जीवनको अर्थ, बिर्सेको थेँ, भोगाइ, गाउँघर बिरानो, यशोधराको पहिलो दिनको बिलौना, अपरिचित वेगमा, मतवाली, आएर उनका, आफ्नै छायाँ, दाइजो प्रथा, महिनावारी, परेदशीको कथा, बोक्सी, महिला अफिसरको दिनचर्या, करको मनपरी, जन्मने रहर, बैङ्कक रात्रि जिन्दगी, कुलत, भूकम्प पीडा, नैतिकता, काठमाडौं जिन्दगी, बरियात, पक्का नेता, भँगेरीको बिचल्ली, अठोट, तिम्रो शहर, हरहर महादेवजस्ता थुप्रै गीत छन् ।
– गीता अधिकारी
संसारमा आमाभन्दा प्रिय कुनै वस्तु नभएरै होला हाम्रा शास्त्रहरुले समेत ‘मातृ देवो भवः’ भनेर आमालाई भगवान्को संज्ञा दिएको । भनिन्छ, भगवान्ले आफ्नो प्रतिनिधिका रुपमा सबै घरमा आमा पठाएका हुन् । ‘अरूको लाख, आमाको काख’ आमाको ममताको अगाडि जुनसुकै मूल्य पनि कम हुन्छ अर्थात् यसो भनौं त्यो ममता किनेर पाइँदैन । भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यत्तिकै कष्ट उठाएकी हुन्छिन् । शान्ति, क्षमा, करूणा, वात्सल्य, दान र मायाको स्रोत मानिन्छ आमालाई । अमर बान्तुले पनि गीत मार्फत् ‘आमाको महिमा’ व्यक्त गरेका छन् यसरी-
पस्किँदै सकिएमा
भोको छुइनँ भन्ने मेरी आमा
नुनु भन्दै अनिदै
रात काट्ने मेरी आमा
आमा ! मेरी आमा !! प्यारी आमा !!!
समाजमा रहेका विकृति-विसङ्गीतलाई गीत-कवितामार्फत् उधुन्ने प्रयास गरेका बान्तुले यसरी हाम्रो समाजमा रहेका बोक्सी, दाइजो, महिनावारी, जन्मने रहर, कुलतजस्ता विषयमा गीत मार्फत् सन्देश व्यक्त गरेका छन्-
कति कति निरीहलाई जिउँदै जलाइसके
सबैभन्दा हिंस्रक जन्तु मान्छे भइसके ।
(बोक्सी)
कुरा चल्दा धेरै दाइजो चाहिँदैन भने
सिन्दूर लाउने बेलामा त दलालजस्तै बने ।
(दाइजो प्रथा)
कति–कति छाउपडीमा ठिहीसँगै मरे
गोठमा बस्ने पनि कति बाघको मुखमा परे ।
(महिनावारी)
जन्मने रहर छ आमा मलाई फालिनदेऊ
संसार हेर्ने रहर छ आमा गर्भ नतुहाइदेऊ ।
(जन्मने रहर)
जित्छु भनी सबै खेल्छन् तास जुवा जोशमा
सबै कुरा गुम्दा पनि आउँदैनन् कोही होशमा ।
(कुलत)
झूट बोलेर भए पनि दिनसक्ने धक्का
काम होइन भाषण गरे अब नेता पक्का ।
उनका माथिका यी झिल्काबाट थाहा हुन्छ कि अमर बान्तु कति प्रज्वलनशील छन् भनेर । उनी गीतमार्फत् माया प्रेमका साथसाथै मातृत्व, सामाजिक विसङ्गति, राजनीति विसङ्गति, समयचेत, उत्पीडन, महिला हिंसा, करूणा, वियोग, घात–प्रतिघात, राष्ट्रप्रेम, जीवनजगत र प्रकृतिलाई अत्यन्त बोधगम्य ढङ्गले आफ्नो मौलिक दृष्टिकोण पस्किन खप्पिस छन् । उनका गीतहरु देशका विभिन्न प्रख्यात गायक-गायिकाका स्वर र सङ्गीतमा स्रोता÷दर्शकमाझ आइसकेका छन् भने केही आउने पालो कुरेर बसेका छन् । उनका यी कार्यहरुलाई श्रीमती भावना राई र एक छोरी र एक छोराले साथ दिइरहेका छन् ।
गीत लेखन तथा सामाजिक कार्यहरुमा पनि आफूलाई सक्रिय बनाउँदै आएका अमरले गीतकार सङ्घको अक्षयकोष स्थापना गर्नका लागि रु. १५,००,०००।- (पन्ध्र लाख) प्रदान गरेर एक उदाहरणीय कार्य पनि गरेका छन् ।
‘हाम्रै आमा–दिदीबहिनीहरुका कारूणिक व्यथाहरुले मलाई आँसुको मसी दिए । जुन भलका बाढीहरुले बगाउँदा बगाउँदै मलाई शब्दहरुमा अल्झिन सिकाए, जीवनका उभौली उधौलीका धारिला धारहरुले सेर्दासेर्दै मलाई आर्जापिन सिकाए, विवशताका करौंतीहरुले रेट्दारेट्दै मलाई रगताम्य अक्षरहरुमा लत्पतिन बाध्य बनाए’ भन्ने अमरका गीत–कविता पढेपछि मुटुमा चसक्क नछुने सायद कमै होलान् ।
यतिबेला २१ औं शताब्दीका कुरा चलिरहँदा हाम्रो मुलुकमा अहिले पनि बालविवाह, छाउपडी, बोक्सीको आरोप, महिला हिंसाका अनेक रुप र पछिल्लो समय लिङ्ग पहिचान गरेर भ्रुण हत्याजस्ता कुराहरुले समाजलाई गाँजेको छ । धर्मका नाममा, संस्कारका नाममा, प्रथाका नाममा जरा गाडेका कुपथ्राहरुलाई रचनात्मक शैलीमा गीतमार्फत् पाठकमाझ ल्याउने बान्तुका कार्य निकै सह्रानीय रहेका छन् ।
‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम स्रोता दर्शकमाझ पस्किएका उनका आगमी दिनमा नेपाली गीत–सङ्गीतको क्षेत्रमा यस्तै–यस्तै सिर्जनाहरुको रसस्वादन गर्न पाइराखौं यही कामना अमरजी अर्थात् अमरसिहं राईसँग गीताको ।
(मिलापको असार अङ्कबाट)






