✍️ नवीनकिरण भुसाल
पोखरा,
असोज ८ ।
२०७९ भदौ २९ गते बुधवार बिहानको समय मलाई केही असहज महसुस भयो । मेरो शरीर दुखिरहेको थियो । मलाई तातो पानीले नुहाएपछि केही ठिक हुन्छ कि जस्तो लाग्यो त्यसपछि म बाथरुम छिरेर तातो पानीले नुहाए । केही हल्का महसुस त भयो तर शरीरमा खासै स्फुर्ति महसुस थिएन । सामान्य रुपमा नै खाना खाए । अफिसको लागि तयारि भएर मोटरसाइकल लिएर निस्किए ।
दिउँसो हुँदै जाँदा मेरो शरीरमा अलि आलस्य अनि दुखाइ जस्तो अनुभव भयो । कार्यालय समय पछी घर फर्किदा मोटरसाइकल चलाउने जागर लागेन मोटरसाइकल अफिसमै छाडेर बसमा घर फर्किए । साझदेखि शरीर दुखाई अनि ज्वरो बढ्दै गयो । राति सिटामोल खाएँ तर सिटामोलले ज्वरो १०० को हाराहारीमा मात्रै भयो । त्यो रात ज्वरो १०२ डिग्रीसम्म पुग्यो ।
भदौ ३० गते बिहीबार मलाई शरीर, आँखा, टाउको र पेट दुख्ने समस्या बिस्तारै बढ्दै गयो । मलाई डेङु भएको हो भनेर एकिन गर्न कत्ती गार्हो परेन । ज्वरो, जीउ दुख्ने, हड्डी दुख्ने, शरीर निस्तेज हुनु, टाउको दुख्नु, आँखाका गेडि दुख्नु, पेट दुख्ने, बान्ता हुने डेंगु हुनुको यी सबै लक्षण देखिएका थिए । डेङुको प्रकोप बढिरहेको बेलामा यी सबै लक्षण देखिएपछि एकचोटि परीक्षण गर्नुपर्छ भन्ने लाग्यो ।
परीक्षणको लागि यू. आर. एल. पोखराको न्युरोड शाखा नजिक भएकाले त्यही जाने निधो गरे । बिहान दश बजे डेंगु परिक्षणको लागि स्याम्पल दिएर घरमा आए । १.५ घण्टा जति पछी श्रीमती विन्दुले रिपोर्ट लिएर आइन रिपोर्टमा डेंगु पोजेटिभ देखियो । रिपोर्ट त पोजेटिभ आइसक्यो अब तुरुन्त यसलाई नेगेटिभ बनाउन सम्भव छैन । रगतमा प्लेटलेट्सको मात्र थप घटन दिनु हुँदैन त्यसकोलागि झोलिलो र पोसिलो खाना खानुपर्छ भन्दै एक अर्का लाई हेरेर मुस्कुरायौ ।
मलाई डेंगु देखिएपछि रिपोर्ट फेसबुकको स्टोरीमा राखे त्यसपछि आफन्त साथिभाई लागायत शुभचिन्तकबाट आत्तिनुपर्दैन भन्ने कुरामा आश्वस्त गराउदै म्यासेज र फोनमार्फत सन्देशहरू प्राप्त भइरहे ।
त्यसपछि मैले चिनेजानेका नजिकका चिकित्सकहरूलाई सम्पर्क गरेँ र सल्लाह लिएँ । उहाँहरू सबैबाट एउटै खालको सल्लाह पाउथे यसको खास उपचार छैन । झोलिलो र पोषिलो प्रशस्तै खाने ज्वरोको लागि सिटामोल खाने र रगतमा प्लेटलेट्सको मात्र हेरीराख्ने किनभने डेंगुको बिरामीले मुख्यतयाः प्लेटलेट्सको मात्रा जाँच गरिरहनुपर्ने हुन्छ । प्लेटलेट्सको मात्रा धेरै कम भएमा थप जटिलता हुन नदिनको लागि अस्पताल पुगेर उपचार गर्नुपर्ने हुन्छ ।
ममा डेंगुले आफ्नो उपस्थिति मज्जाले पुष्टि गर्दै गइरहेको थियो । ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, ढाड दुख्ने । शरीरबाट पुरै उर्जा खिचेर अशक्त शरीर बनाउन कत्ती समय लाग्ने रहेनछ ।
त्यो दिन पुरै छट्पटी मै बित्यो । सयौंपटक कोल्टे फेर्दै रात बित्यो । सतही निद्रा बाहेक केही लागेन । डेंगुले गर्दा आउने ज्वरो त यति बिघ्न हुँदो रहेछ कि अलिकति हल्लिँदा पनि हड्डि भाँचिने भन्दा बढी दुख्ने डर हुने रहेछ । पढेको थिएँ, डेङुको ज्वरोलाई ‘ब्रेकबोन फिवर’ भनिन्छ भनेर । त्यो पुरै चरितार्थ भयो ।
असोज २ गते पुनः रक्त परिक्षणको लागि यू. आर. एल. को न्युरोड शाखामा गएर स्याम्पल दिए । एक घण्टा पछी श्रीमतिले रिपोर्ट लिएर आइन रगतमा प्लेटलेट्सको मात्रा घटेर ४८,००० पुगेको थियो । मलाई लाग्थ्यो भान्छामा जान नपरे हुन्थ्यो । केही खान पनि नपरे हुन्थ्यो । दुई–दुई गोलि सिटामोल खादा पनि ज्वरो घटाउन एकदमै गाह्रो भइरहेको थियो । म आफैँमा छटपटिँदै थिएँ । समस्त लामखुट्टे प्रजाती प्रति बेलाबेलामा क्रोध उत्पन्न हुन्थ्यो । ज्वरो रन्केर आउँदा झन-झन रिस उठेर आउँथ्यो । ज्वरोको चौथो दिन त अझै कहालीलाग्दो भयो । ज्वरो रन्केर बारम्बार १०३ डिग्री पुग्यो । दुइ ट्याब्लेट सिटामोल खादा पनि खासै छोएन । केही गर्ने जाँगर थिएन । तीन गते मणिपाल शिक्षण अस्पताल, पोखरामा कार्यरत आफूले चिनेको हितैषी मित्र देबकुमार चौधरीलाई पुनः रक्त परिक्षणको लागि बोलाउने निर्णय गरेँ । उहाँले घरमा आएर रगतको स्याम्पल लिनुभयो । करिब एक घण्टा पछी रिपोर्ट आउदा रगतमा प्लेटलेट्सको मात्र घटेर २३ हजार देखियो ।
रगतमा प्लेटलेट्सको मात्रा घट्दै गएको र ज्वरो हराउने बेला सुरु हुन लागेको अवस्थामा डेङुको नराम्रो असर अर्थात् क्रिटिकल अवस्थामा प्रवेश गर्ने सम्भावनाको ज्ञानले अस्पतालमा गएर उपचार गर्ने निधो भयो । मित्र केशब ढुङ्गानाले ट्याक्सी लिएर आउनु भयो । उहाँको मेडम र बहिनी दुवैजाना मणिपाल अस्पतालमा कार्यरत हुनुहुन्थ्यो । हामी मणिपाल अस्पतालको इमरजेन्सीमा गयौं, इमरजेन्सीमा सबै जाँच गरियो । डाक्टरको सल्लाह बमोजिम अस्पताल भर्ना भए लगत्तै मलाई दुई पोका सेतो रगत (प्लेटलेट्स) चढाइयो । सलाइन र नसाबाट औषधि दिन सुरु भयो । भिडियो एक्स-रे गरेर हेर्दा डेंगुको असरले (mild ascites, edematous gall bladder walll, mild right pleural effusion with underlying atelactasis) पित्त थैली केही सुन्निएको, छाती र पेटमा केही पानी जमेको देखिएको थियो ।
ज्वरो आउने बस्ने फर्किने गरेर सात दिनसम्म दुःख दियो । निद्रादेवीले राती माया गर्न सकिनन् । जुन बेला आँखा पाट्टिन्थे सोही समयमा एक झप्को निद्रा पर्थ्यो ।
मणिपाल शिक्षण अस्पतालको सबै व्यवस्था मलाई राम्रो लाग्यो, नर्सहरू बेलाबेलामा आउनुहुन्थ्यो, अवस्थाको बारेमा जानकारी लिनुहुन्थ्यो । प्रत्येक दिन डाक्टरहरू आउनुहुन्थ्यो, सोध्नुहुन्थ्यो । अस्पताल गएको चौथो दिनसम्म सबै रिपोर्ट सामान्य हुँदै थिए ।
२०७९ भाद्र २९ गते सुरु भएको डेंगुको प्रकोप शान्त हुन आश्विन ०७ गते सम्म (१० दिन) कुर्नु पर्यो। लामो समयसम्म ज्वरो नबस्दा घर परिवार, आफन्त र इष्टमित्रहरुमा चिन्ता स्वाभाविक रहयो । परिवारजन, आफन्त र इष्टमित्रहरूले कैयौं पटक कस्तो भयो भनेर चासो राख्नुभयो । दश दिन सम्म यस्तै आशा र निराशाको क्रम चलिरह्यो । मेरो अनिन्द्रामा अनिदो बसेर हरपल साथ दिइरहेकी श्रीमतीलाई सप्रेम आभार व्यक्त गर्दै डेंगु कसैलाई पनि नलागोस भन्ने कामना गर्दछु । अन्त्यमा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई धन्यवाद ।






