✍️ चन्द्र रानाहँछा
काठमाडौं,
कार्तिक १३ ।
पृथ्वीमा मानिस अगाडि जन्मियो कि गीत ? अर्थात् लोकमा मानिसले गीतलाई डो¥यायो कि गीतले मानिसलाई बाँच्न सिकायो ? सोचनीय छ यसकारण कि, सोचाइबाटै जन्मने सच्चाइद्वारा मात्रै जगतका सत्यहरु नजिक पुग्न सम्भव छ । दाबी गर्न सक्छौँ हामी कि, मानिसभन्दा पछाडि नै जन्मिएको हो गीत । तर, आवाज जो मानिसभन्दा अघि पनि थिए पृथ्वीमा । जब ब्रह्माण्ड टुक्रिएर ग्रहहरु र ग्रहहरु टुक्रिएर उपग्रहहरु बने, यसरी ग्रहहरु या उपग्रहहरु टुक्रिने क्रममा चोइटिँदा या एक–आपसमा ठोक्किँदा जो आवाज (घर्षण) पैदा भए तिनै आवाज हुन्, ब्रह्माण्डका प्रथम ध्वनि । पछि पृथ्वीले स्वभाविक आकार ग्रहण गरेसँगै अस्तित्वमा आएका खोला, नदी, बतास, जीव र चराचुरूङ्गीहरुले तिनै ध्वनिलाई आ–आफ्नो शैलीमा उतारे ।
प्रकृति, जीव र चराचुरूङ्गीबाट टिपेर मानिसले फेरि आवाजहरुलाई आफ्नो संवेदनामा भरे । जीवन बनाए । सुसेले । हाँसे खुसीहरुमा । रोए पीरहरुमा । कहालिए विपतमा । यसरी मानिसले आफूलाई अनेक तरहले अभिव्यक्त गर्ने पहिलो माध्यम आवाजलाई बनाए । कालान्तरमा जब भाषाको विकास भयो, मानिसले आफूसँग जोगाइराखेका आवाजमा शब्दहरु खिले र आवाजले निश्चित लय समात्यो । वास्तवमा लयको जन्मदाता मानिस होइन, बरू तिनलाई मानिसले सुन्दर आकार दिए । आफ्नो जीवन पद्धति अनुकूल उजिल्याउन कठोर मिहिनेत गरे । अन्ततः ती मानिसका प्राणजस्ता भए । ती लयको धागोमा खिलिने हरेक शब्द–फूलहरुका जन्मदाताचाहिँ फेरि मानिस नै हुन् । यसर्थ, मानिसभन्दा अघि जन्मिएका आवाज र मानिसभन्दा पछाडि जन्मिएका शब्दहरुको विशिष्ट सम्मिलनबाट जन्मिएका हुन् गीत ।
‘साँझ सुत्दा सिङ्गो संसार मेरै साथ थियो
ब्युँझी छाम्दा रित्तिएको विलापमात्रै थियोे ।’
(यशोधराको पहिलो दिनको बिलौना)
प्रश्न उठ्न सक्छ- ‘सुन्दर गीत कस्तो हुन्छ ? अथवा अब्बल गीतकार कसलाई भन्ने ?’ चित्त बुझ्दो जवाफ म त के, गीतै लेखेर कपाल फुलाएका गीतकार र गीतका शल्यक्रिया गर्छु भनी दाबी गर्ने महाविद्वान्हरुले पनि दिन सक्छ जस्तो लाग्दैन मलाई । धेरै सङ्ख्यामा गीत लेखी आएका, मिडियामा प्रशस्त छाएका अर्थात् गीतै लेखेर उमेर गुजारेका ? नै अब्बल गीतकार हुन्छन्को मान्यता अघिल्तिर तिनका रचनाहरुको बिस्कुन फिजाएर एक–एक शब्दार्थ केलाउनुपर्छ भन्छु म । असलमा, जसका गीतहरुले मानिसमा सदा उत्प्रेरणा जगाउँछ र सपना देख्न सिकाउँछ । जुन गीतभित्र मानिसको जीवन पद्धतिसित जोडिएका अवयवहरु छन्, जहाँ प्रेम छ, आँशु, हाँसो, छटपटी अनि विश्वासको पर्याप्त अंश छ । जहाँ समय, समाज र सिङ्गोे राष्ट्र छ, तिनै गीत र गीतकार नै अब्बल लाग्छन् मलाई ।
‘मृत्यु छ र नै जीवनको अर्थ छ
कर्मभित्रै जीवनको दर्पण छ…’
(जीवनको अर्थ)
प्रकृतिजस्तै जीवनको पनि अँध्यारो र उज्यालो पाटो छ, जसले जीवनलाई जीवनजस्तो बनाएको छ । बाँचिरहेको बोध गराएको छ । तथापि, हामीसित हाम्रै सुन्दर जीवनलाई भत्काउने र पुनः निर्माण गर्ने सपनाहरुका यस्ता अजस्र शृङ्खलाहरु छन् कि जुन सपनाको एउटा कुइनेटो जसोतसो छिचोल्यो तुरून्तै अर्को कुइनेटो आइपुग्छ । जसरी यात्रामा कति कष्टले एउटा डाँडा नाघिन्छ, तत्कालै अघिल्तिर उभिन्छ अर्को डाँडा । यिनै स्वप्न–डाँडाहरुमा निर्धक्क उभिएर गीत र कविता लेख्ने सामथ्र्यवान् कवि एवम् गीतकार हुन्- अमर बान्तु ।
‘सम्झिनुलाई गाह्रो भन्थे बिर्सनु पो रै’छ
बिर्सुंभन्दा गहिरिँदै घाउ झनै बढ्ने रै’छ ।’
(बिर्सनु गाह्रो)
सिर्जना गर्नु एउटा कुरा होला । तर, अमर सिर्जना गर्नु अर्कै कुरा हो । हरेक जीवन्त सिर्जनाको मूल जरा सर्जकको त्याग, बोध, चिन्तन, साधना र समर्पणको गाम्भीर्यतामा हुन्छ । जसरी बुद्धले शान्ति प्राप्तिका खातिर महात्याग गरे, महान् दार्शनिक, वैज्ञानिकहरुले आफूलाई असलमा प्रमाणित गर्न कठोर र शृङ्खलाबद्ध सङ्घर्ष गरी अकल्पनीय जोखिमहरु मोले र परिणाममा चमत्कारिक आविष्कारहरु गरे । ती सबै अमर सर्जकहरु हुन् । यसरी हरेक मानिसले आफ्नो अस्तित्वको निर्माण आफ्ना कर्म (सिर्जना) द्वारा गर्छन् भने त्यो अस्तित्वको सुरक्षाचाहिँ त्यसको पाइन (धार)ले गर्छ ।
यहाँ प्रसङ्ग जोडिन्छ शक्तिशाली कवि/गीतकार अमर बान्तु र उनका रचनाहरुको ।
भोजपुर दिल्पामा जन्मिएका बान्तुलाई त्यहीँका उकाली–ओराली, दुखुम–सुखुम र संस्कृतिले कवि/गीतकार बनायो । मुन्दुमी सभ्यता र संस्कृतिले सिँचित मनोरम गाउँ दिल्पाको दाहिने काँधबाट गोरूको जुरोजस्तो उठेको टेम्केको सानदार उचाई र फेदीमा त्यहीँका जीवनदर्शनसित हेलिँदै एकनास बगिरहेको पिखुवा र त्यहीँ मिसिने याङ्टाङ खोलाको सुमधुर सुसाई नै बान्तुका सिर्जनाका आधारशिविर हुन् । हृदयमा अद्भूत कम्पन पैदा गर्न सक्ने शब्द–सिर्जना प्रक्रियाको चरण उनको संवेदना बारम्बार त्यही पहाडमा पुगेर बजारिन्छ, जहाँबाट उनी आफैँलाई खोज्दै खोज्दै आएका थिए अतीतमा ।
‘दिल्पा दाँवा जोड्दै बग्छ याङ्टाङ सुसेलिँदै
उनकै पाइला डोब खोज्छु यादमा तरेलिँदै ।’
(अधुरो अभिसार)
अतीतलाई टिपेर आञ्चलिक सुसेलीभित्र काव्यमा उन्नु बान्तुको सुन्दर पक्ष हो । शब्दको अन्तर्यमा छिर्दै गर्दा कविको सिङ्गै भूगोल सर्लक्क अगाडि आइदिन्छ । गर्विलो कुरा त यो हो कि मुन्दुमी संस्कृतिबाट उठेका उज्याला र इमानदार कवि/गीतकार अमर बान्तुकोे रचनाको मोहक आज ऊ बाँचेको भूगोल, दर्शन र संस्कृतिको फ्रेमभित्र मात्रै सीमित छैन । कुनै पनि भव्य कवि सर्वत्र र सदैव पुज्य हुन्छ नै, जुन पूज्यस्थल आज निर्माण गरेका छन् कवि÷गीतकार बान्तुले । जसको काव्यिक उचाई र गहिराईको मापन गर्न उनमा निहित चिन्तन र संस्कारले सघाउ पु¥याएको छ । आज अमर बान्तुको रचनाको प्रत्येक भाव–ध्वनीमा मानिसले आफ्नै प्रच्छाँया भेट्छन् । जहाँ तिनको इतिहास, अस्तित्व, सपना, वेदना, चेतना र सम्भावना प्रतिविम्बित छ । यही हो बान्तुको रचनाको सफलता ।
…हेर्दै शून्य र सुन्दै घृणा लाग्ने
आँतै थरर काँप्ने
एउटा कुरुप विम्ब
आफ्नो क्रुर र निर्दयी दाह्रा देखाएर
पशुपतिनाथको पूर्व-दक्षिण
बागमती किनारमा उभिएको छ
युगको कालो धब्बा
कलङ्कित संस्कारको दसी
सति जाने ढोका ।
(सतीढोका)
कविता र गीतको सुन्दर सङ्ग्र्रह ‘परिभाषाका राँटाहरु’ का सर्जक हुन् अमर बान्तु । त्यसैगरी ‘अमर भावना’ नामक सुन्दर गीतिएल्बमसमेत पाठक–स्रोतासामु ल्याइसकेका छन् उनले । पुस्तक या एल्बमभित्रका तमाम गीत या कविताहरु सयौं बसाइँमा लेखे पनि लेखिनुअगावैका अनेकौँ परिवेश÷परिस्थितिहरुमै यी गीत–कविताहरुका रूङ्ग्री (सातो) बान्तुको मस्तिष्कमा घुसिसकेका थिए । जीवन स्मृति, विस्मृति एवम् वर्तमान भोगाइका अनन्त अनुभूतिहरुबीच मुलायम र स्वभाविक द्वन्द्व हुँदा तिलस्मीजस्तो अझ भनौं पलभर बिजुली चम्किँदा पैदा हुने आकस्मिक धर्साजस्ता तप्त भावहरु उनको दिमागमा बसिसकेका थिए र तिनै भावहरु सुस्तरी गीत या कविताको रुपमा उनीभित्र फैलिन थालेका थिए । अन्ततः तिनले दिमागमै निश्चित आकार ग्रहण गरिसकेपछि मात्रै कवि÷गीतकार अमर बान्तुले यसरी जिम्मेवारपूर्वक जन्म दिएर समाजलाई उपहार स्वरुप प्रदान गरेका हुन् । यिनै अमूल्य रचनाहरुले आज आम पाठक स्रोताको हृदयमा निर्माण भएको उनको स्निग्ध विम्ब कहिले भत्कनै छैन ! कवि एवम् गीतकार अमर बान्तुको काव्यको आयू उनी स्वयम्को भन्दा निसन्देह लामो छ । जसका लागि उनलाई गर्विलो शुभकामना ।
(मिलापको कार्तिक अङ्क २०७७मा प्रकाशित)






