काठमाडौं,
असोज १४ ।
अभिनेता कामेश्वर चौरासिया र अभिनेत्री लक्ष्मी बर्देवालाई फरक गेटअपमा प्रस्तुत गरिएको चलचित्र ‘परिवार’को टिजर सार्वजनिक गरिएको छ । केही समयअघि सार्वजनिक फस्टलुक पोस्टरबाट चर्चामा आएको चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा कामेश्वर र लक्ष्मीबीचको पारिवारिक खटपटलाई देखाइएको छ । परिवारको मञ्जुरीविना विवाह गरेका उनीहरूबीचको संवादसँगै छोरीले भगवान्सँग आफ्ना बाबुआमाबीच झगडा नहोस् भनेर गरेको आग्रहलाई पनि टिजरमा समेटिएको छ ।
टिजरको अन्त्यतिर कामेश्वर र लक्ष्मी सुतेर उठेपछि आ-आफ्नो शरीर छाम्दै आश्चर्यमा परेको दृश्य देखाइएको छ । उनीहरू किन त्यसरी आश्चर्यमा परे भन्ने खुलाइएको छैन ।
मदन थापाको निर्देशनमा बनेको यस चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतको अभिनय छ । प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको चलचित्रमा निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ ।
रे अफ आर्ट प्रालिको ब्यानरमा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्मित चलचित्रका निर्माता रमेश शाही, कार्यकारी निर्माता कैलाश रावल तथा सह-निर्माता आरम्भ रिजाल हुनुहुन्छ । चलचित्र ‘परिवार’ कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।






