कोभिड-१९ सङ्क्रमणमा आयुर्वेदीय विश्लेषणात्मक दृष्टिकोण र जडिबुटी

✍️ डा. किरण पौडेल
काठमाडौं,
आश्विन ६ ।

आयुर्वेद चिकित्साको मुख्य उद्देश्य शरीर निर्माणको आधारभूत स्तम्भको रुपमा रहेको धातु अर्थात् सामान्य बुझाईमा तन्तुहरुको साम्य अवस्थामा राख्नु हो । शरीरको निर्माणमा आधारभूत धातुहरु जस्तैः शरीरको जलिय तत्वहरु, रगत, मासु, मेद, हड्डी, मज्जा आदि शारीरिक अवयवहरुलाई सन्तुलित गरेर यसको कार्यमा निरन्तरता दिनु आयुर्वेदीय चिकित्सा शास्त्रको प्रयोजन हो । (च.सू.१।५३, चक्र.)
शरीरमा यिनै सुक्ष्म रुपमा रहेको तन्तुहरुको विषमता वा सामान्य अवस्था भन्दा बढी या घटीको अवस्थामा रोग उत्पत्तिको मुख्य कारण हुन्छ तर जब यो शरीरको आधारभूत धातुहरु समान रुपमा आ-आफ्नो कार्य गर्दछन, तब स्वस्थ भएको अनुभुति हुन्छ । यो शरीरको प्राकृत अवस्था हो भने धातुहरूको विषमता रोगको उत्पत्तिको मुख्य कारण हो । धातुहरूको विषमता हुनु रोग उत्पत्तिको कारण बन्न सक्छ ।

धातुहरू या तन्तुहरू शरीरमा परिवर्तनमय भईरहेको हुन्छ, यदि यस्तो अवस्थामा धातुको स्वरूपमा विविध कारणहरूले असर पारी घट्दो क्रम भएमा धातुमा या तन्तुको स्वरूपमा त विषमता हुन्छ तर रोग भने उत्पन्न भएको हुँदैन । यस्तो अवस्थामा पनि शरीरले त्यो काम निरन्तर पूर्ण क्षमताको साथ गर्न सक्छ जुन सन्तुलित अवस्थामा रहेको तन्तुमय शरीरले गरिरहेको हुन्छ । (च.सू.९।४, चक्र.)

शरीर भित्र रहेको शरीर निर्माणका आधारभूत तत्वहरु कोष, तन्तु, धातुहरूको विषमताले हुने व्याधि या रोगहरुको सङ्ख्या अनगिन्ती हुन्छन र रोगहरू शरीरको निर्माणभूत धातुहरूमा आधारित भई उत्पन्न भएका हुन्छन् । शरीरमा वायु, अग्नि युक्त तत्व या पित्त  र क्लेद युक्त तत्व या कफसँग सम्बन्धित भई यी रोगहरू रहेका हुन्छन ।  एक अर्को प्रकारको रोगमा शरीरको भित्री आधारहरू भन्दापनि बाहिरी कारणबाट रोगको उत्पत्ति हुन्छ । यसमा शरीर निर्माणको धातुरूप अंशहरुको विषमता कारण नभई बाहिरी या आगन्तुज कारणको प्रभावले रोग उत्पन्न हुने हुन्छ । (अ.स.सू. २२.६०, सु.सू.१।२२)

यस अध्ययनमा कोरोना भाईरसलाई आगन्तुज या बाहिरी कारणले रोग उत्पन्न गरेको हो भनि निर्क्योल गर्न सकिन्छ । आगन्तुज रोगहरू वा बाहिरी कारणबाट उत्पन्न भएको रोगहरू भएमा त्यसले शरीरको आन्तरिक आधारभूत तन्तुहरू या धातुहरूसँग सम्बन्ध बनाई आन्तरिक सन्तुलित अवस्थामा रहेका तन्तुमय शरीरलाई प्रभाव पारी सम्पुर्ण शरीरमा आगन्तुज रोगको समान लक्षण देखाई शरीरलाई रोगमय बनाई अस्वस्थ बनाउँछन् । (च.सू.१९।७)

यस तथ्यबाट बुझ्न सकिन्छ कि रोेग उत्पत्तिमा आगन्तुज या बाहिरी कारण मानिएको कारोना भाईरसले शरीरलाई प्रभाव पारी शरीरमा लक्षणहरू देखा पार्न थाल्दछन । विना लक्षण कारोना भाईरस शरीरमा रहनु भनेको धातुगत या तन्तुमय शरीरमा यसको प्रभाव त विषमता रुपमा हुन्छ तर रोग कै लक्षण भने देखाएको हुँदैन जसमा शरीरको धातु क्षीण भएता पनि रोगको लक्षण नदेखिएको हुनाले शरीरलाई सन्तुलित अवस्थामा राखेर सामान्य झै काम गर्ने क्षमता बनाउँदछ । तसर्थ, कारोना भाईरस लागेका व्यक्तिहरू जसमा लक्षण देखा परेको हुँदैन त्यसले शरीरलाई ठूलो नोक्सानी गर्न सक्दैन भनिएको हो ।

वौद्ध दर्शनको एक प्रमुख वादमा स्वभावोपरमवाद हो । जसमा जुन कारणले शरीरको तन्तुहरूको पुष्टि हुन्छ यदि त्यस कारणमा विषमता आएमा शरीरमा तन्तु, कोष, अङ्गहरूमा विषमता आउनु स्वभाविक हुन्छ । यदि कारणमा समता हुन्छ भने शरीर पनि सामान्य अवस्था रहन्छ । यो स्वभावले नै हुन्छ । यसरी यो वादको मतलाई उल्लेख गर्दा सम्पूर्ण  रोगहरूको उत्पत्तिमा कारण उपलब्ध हुन्छ तर त्यसको अन्त्यमा कुनै कारण हुदैन त्यो स्वतः अन्त्यको गतिमा हुन्छ । (च.सू.१६।२७-२८)

जब अन्तमा कुनै कारण र उपचारको आवश्यक्ता नै पर्दैन भने यो कोरोना महामारीमा उपचारको किन खोजि अनुसन्धानको आवश्यक्ता पर्छ त ? तब आयुर्वेद शास्त्रले यो स्वभावतः अन्त हुन्छ भन्ने वौद्ध दर्शनको मतलाई तर्क सङ्गत प्रस्तुत गर्दै उल्लेख गर्दछ की चिकित्साको उद्देश्य भनेको शरीरमा धातु, तन्तु या कोषहरूको क्रियामा समता ल्याउनु हो । शरीरमा धातु, कोषहरुको समान रुपमा कार्य गर्न सक्ने बनाउनु, कुनै प्रकारको शरीर भित्र र आगन्तुज या बाहिरको कारणबाट रोग हुन नदिनु र जुन–जुन  प्रकारबाट शरीरको सामान्य अवस्थामा कार्य गर्न सक्छ त्यो बनाउनु आयुर्वेद चिकित्साको उद्देश्य हो । (च. सू. १६ । २९-३६, चक्र)

स्वभावले रोग नष्ट हुन्छ भन्ने सिद्धान्तको तर्क पुर्ण प्रस्तुत गर्दै कोषहरू, धातुहरुको विषम हुनमा जुन कारणहरू छन, त्यसलाई छोडेर  कोष र धातुहरूको सामान्यावस्थामा राख्ने कारणहरु जस्तैः आहार, औषधि, योग, मनोरञ्जन, मनको उपचार र हितकर विहार आदिलाई पालना गर्नाले शरीरमा रहेका विषम धातुहरू, विषम कोषहरूको सहजताले नष्ट हुन्छ र शरीर सामान्यावस्थामा रहन्छ तथा कुनै रोगको लक्षणहरू देखा पर्दैनन् ।

कोष, तन्तु या धातुहरूको विषमता क्षणभरको लागि हुन्छ भनि वौद्धदर्शनको क्षणभङ्गुरवादले भन्दछ । कुनै निश्चित समय पश्चात् त्यस विषम धातुले आफ्नो समान अनेक विषम तन्तुहरू, कोषहरू तथा धातुहरूको उत्पन्न गर्छ । सुरूमा कुनै लक्षण उत्पन्न नगरिकनै सामान्य रूपमा कार्य गरेको धातुहरूले यसरी वृद्धि हुँदै जादा पुराना विषम तन्तुहरू या धातुहरूको नष्ट गर्नुभन्दा अगाडि अनेक तत् तत् विषम धातुहरूको उत्पन्न गर्छ र पुरानो धातुहरूले आफुलाई नष्ट गर्छ । यसरी लक्षण नदेखिएको पूर्व अवस्थामा अब विस्तारै विस्तारै लक्षणहरूसमेत देखा पर्नथाल्छ ।

जसरी कोरोना सङ्क्रमणबाट जोगिनको लागि अनेक उपायहरू जस्तैः  पटक साबुन पानीले हात धुनु, मानिस मानिस बीचको दुरी कायम गर्नु, धेरै भिड भएको ठाउँमा नजानु, माक्सको प्रयोग गर्नु  आदि भनिन्छ, त्यो कारोना लाग्ने कारणको त्याग गर्ने वा सामान्य तरिकाबाट शरीरलाई विषमता हुन नदिनु र समता बनाई राख्ने उपायहरु हुन । यस्ता अनेक उपायहरू यसमा पर्दछन । त्यस्तै कारोना लागि हालेता पनि आहार र औषधीहरूको माध्यमबाट यसलाई लक्षण विहिन बनाउनु या लक्षण देखिएता पनि हानिकारक प्रभाव पार्न नदिनको लागि चिकित्सा कर्महरू आवश्यक हुन्छ । प्रथमतः कोरोना लाग्नै नदिनको लागि अनेक उपायहरू अपनाइन्छ । लागेता पनि लक्षण नदेखियोस् भन्ने उपायहरू अपनाइन्छ । लक्षणै देखिएता पनि त्यसले अधिक हानि शरीरमा नगरोस् भन्ने उपायहरू अपनाईन्छ । यो सङ्क्रमण रोगहरूको लागि भनिएको शास्त्रीय मत हो जुन हाल पूर्ण रुपमा कोरोना जस्तो सङ्क्रमणमा पालन गर्ने र गराउने कोशिस गरिदैछ । कोरोना लागि हालेता पनि आयुर्वेदीय जडिबुटी जसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ, त्यसको प्रयोग गरिन्छ । लक्षणसहित देखिएको कोरोना सङ्क्रमणमा रोग प्रतिरोधात्मक औषधीहरू, आईसोलेशन, अस्पताल भर्ना जस्ता अनेक उपाय अपानाई सकेसम्म रोगीलाई कोरोना मुक्त गर्ने कोशिष गरिन्छ । यी उपायहरू आयुर्वेद सिद्धान्त अनुसार नै हुनेगर्दछ ।

कोरोना भाईरसले शरीरमा सङ्क्रमणको लक्षण छ वा छैन ? लक्षण भए कुन अवस्थामा रहेको छ ? के यो अवस्था सङ्क्रमणको जटिल अवस्था हो ? कसरी यो अवस्थाबाट मुक्त पाउन सकिन्छ या यो सङ्क्रमणको कारण मृत्युु निश्चय नै हुन्छ ? भनेर छुट्याउन सक्नु अति महत्वपूर्ण हुन्छ ।

यस प्रकारको आगन्तुज सङ्क्रमणजन्य रोगहरू परीक्षा तथा त्यसको पश्चात् सही औषधीको छनोट गर्नुपर्छ तसर्थ चिकित्सकले ज्ञान पुर्वक मात्र चिकित्सा कार्य प्रारम्भ गर्नुपर्दछ । आयुर्वेद चिकित्सा वैज्ञानिक चिकित्सा पद्दति हो भन्ने आधारमा अनुसन्धान तथा साङ्खिकी तथ्यहरूको प्रयोग भएको पाईन्छ । जसमा चिकित्सा कर्ममा भनिएको छ कि चिकित्साकर्म कुनै काकतालीमा गरिएको विधि होइन । यसरी  मनोमानि रूपमा चिकित्सा गरेमा या चिकित्सकले रोगलाई नबुझीकनै उपचारमा तल्लिन हुन्छ, यद्यपि त्यस चिकित्सकलाई प्रचुर मात्रामा औषधीको ज्ञान छ भने पनि उपचार निश्चित रूपमा सफल हुन सक्दैन । यो केवल संयोग मात्र हुनेछ । संयोग जस्तो शब्दहरू चिकित्सामा सफलता ल्याउन सक्दैन केबल भ्रम मात्र उत्पन्न गर्छ न कि उपचारको पुर्ण सफलता । हाल कोरोना भाईरस सङ्क्रमणमा भएको यही हो । सुरूको केही महिना त केवल यो कस्तो सङ्क्रमण हो भनेर अनुसन्धान गरेर नै समय बित्यो । (च.सू.२०।२०-२२)
तथा सङ्क्रमणको बारेमा जानकारी त पाईयो तर हाल चिकित्सा कुन विधिको हुने भनि अन्योल कायमै रहेको छ । यस समयमा यो चिकित्सा सही हो भन्नु मुर्खता हुनेछ वैज्ञानिक सम्मत हुनेछैन । उपचारले केहीलाई निको पारेको हुन सक्ला तर त्यो नै सही उपचार पद्धति हो भन्न सकिदैन । यसलाई आयुर्वेद चिकित्साले ‘यदृच्छया सिद्धि’ अर्थात् निश्चित् रुपमा यो नै चिकित्सा हो भन्न नसक्ने अवस्थामा चिकित्सा गर्नु भनेको केही व्यक्तिहरूलाई कोरोना सङ्क्रमण मुक्त हुनु तर निश्चित रुपमा उपचारको वकालत गर्न नसक्नु हो । यस्तो चिकित्सा आयुर्वेद सम्मत मान्य छैन । (च. सि. २।२८) यो आधुनिक चिकित्सा पद्धतिको पनि मत हो ।

चिकित्साको निश्चित् सफलता तब पाईन्छ जब चिकित्सक रोगलाई विशेष रुपमा जान्ने र चिन्ने अवस्थामा पुग्छ  र सबै प्रकारको औषधिको विधानलाई जान्ने, चिन्ने, असर आदिको बारेमा परिचित हुन्छ र समय–ठाउँ–देश–भूगोलको अनुसार औषधिको प्रमाण पहिचान गर्न सक्छ । यस्तो चिकित्सकहरूले चिकित्सा गर्दा निश्चित् रुपमा सफलता प्राप्त गर्न सक्दछन् । कोरोना भाईरसको सङ्क्रमणमा हालसम्म रोगको त पहिचान भयो तर चिकित्सा विधि औषधिहरू, भुगोलानुसार यसको असर, मात्रा, प्रभाव आदिको बारेमा पूरा संसार अनविज्ञ छ । तसर्थ, यस अवस्थामा चिकित्सा गर्नु भनेको केबल चिकित्सा कर्मको लागि मात्र हुन्छ, निश्चित सफलताको लागि हुनेछैन । यसको उपचार त तब सम्भव हुन्छ जब चिकित्सा विधि वैज्ञानिक छ भने मात्र मान्य हुन्छ, जसरी आयुर्वेदले वर्णन गरेको पाईन्छ । चिकित्सा पेशामा तर्क–वितर्क गर्ने चिकित्सक नभए चिकित्सा कर्म नै फितलो हुन्छ । तर्क–वितर्कले यस सन्दर्भमा वैज्ञानिक ढङ्गबाट विषय वस्तुको अध्ययन, अनुसन्धान तथा प्रस्तुतिकरण गर्न सक्ने क्षमताको अर्थमा लिईन्छ । तर्क वितर्क जस्ता अनुसन्धानात्मक विषयहरुबाट बाहिर रहेका शास्त्रहरू वैज्ञानिक र चिकित्सा सम्मत् छैन भनि आयुर्वेद चिकित्सा पद्धतिले व्याख्या गर्दछ । (च.सू.२०–२२, चक्र.) चिकित्सा कर्म चिकित्सकहरूको परम धर्म हो । चिकित्सकहरूले चिकित्सा कर्म शरीरको स्थिति, तन्तुहरू तथा धातु, वातावरण, समय आदिको स्थिति बुझेर चिकित्सा गर्नुपर्दछ । कुनै रोगको चिकित्सा प्रारम्भ गर्दा त्यसको परीक्षा नगरी चिकित्सा कदापि सुरु गर्नु हुँदैन । रोग र रोगीको विषयमा अनविज्ञ भएता पनि चिकित्सा गर्छु भन्ने मानसिकता चिकित्सकले लिएमा त्यो केबल ‘यदृच्छ’ भाव अर्थात् पूर्ण अनुसन्धान रहित मनोभावनाले ग्रसित भएर चिकित्सा गरेको मानिनेछ । यो चिकित्सा कर्मबाट सफलता निश्चित भने हुँदैन, केही सफलता मिलेमा केबल संयोग मात्र हुनेछ । (अ.हृ.सू.२९।८), सर्वाङ्ग सुन्दरी, आयुर्वेद रसायन व्याख्या)

अनुसन्धानमा तल्लिन रहने चिकित्सक, खोजमा तल्लिन चिकित्सकहरूको समुह र तर्कपुर्ण वचनले युक्त चिकित्सकले अनुसन्धानको दायरामा रहेर नभनिएको रोगहरू, कम उल्लेख भएका रोगहरू तथा नयाँ रोगहरूको विषयमा चिन्तन र चिकित्साको सिद्धान्त बनाउन सक्छन र चिकित्सा कर्मको प्रारम्भ गर्न सक्छन । जो अध्ययन–अनुसन्धानमा कुनै रुचि राख्दैन, तर्क गर्न सक्ने क्षमताको कमी छ, शास्त्रको ज्ञानको अभाव छ, अल्प बुद्धि छ त्यस्तो चिकित्सक वा चिकित्सक वर्गहरूले बुद्धिजीवी चिकित्सक समुहले निर्देश गरेका सल्लाह र सुझावलाई मनन गर्दै पच्छाउनु र चिकित्सा गर्नु नै श्रेयश्कर हुन्छ । अज्ञात रोगहरूमा अल्पबुद्धि भएका र अनुसन्धानमा रुचि नभएका चिकित्सकहरूले उपचार गर्नु भनेको मारक हुनेछ र चिकित्सा कर्ममा सफलता उपलब्ध हुन सक्नेछैन ।

तसर्थ यस्ता चिकित्सक समुहहरू जसलाई रोगको बारेमा ज्ञानको अभाव छ, तिनिहरूले बुद्धिमान चिकित्सक समुहको तर्कलाई मान्नुपर्छ, यसमा सबैको हित हुन्छ । (च.वि.८, चक्र.)

यसरी अध्ययन–अनुसन्धान, तर्क, कुसल चिकित्सक भएमा आयुर्वेद चिकित्साले कोरोना जस्तो अनेक अनुक्त या उल्लेख नभएको सङ्क्रमणजन्य रोगहरूमा उपचार गर्न सक्दछन भनिएको छ । तर, अल्प बुद्धि भएका, अनुसन्धानमा कुनै पनि रुचि नराख्ने, चिकित्सा पेशामा गहिरो अध्ययनको अभाव भएका, वैज्ञानिक तर्क–वितर्कको अभाव भएका, रोग र रोगी परीक्षासमेत गर्न नजानेका चिकित्सकहरूको समुहले वा आफूलाई चिकित्सक भन्दै हिड्ने समुहले चिकित्सा कोरोना जस्तो सङ्क्रमणको गर्नुभनेको रोगीको प्राणको हरण गर्नु निश्चित समान हो ।

मानवलाई समय कालखण्ड अनुसार अनेक व्याधिहरुले आक्रान्त पारेको इतिहास साक्षी  छ र यसरी उत्पन्न भएका सबै रोगहरूको गणना गर्नुभनेको असम्भव समान नै हो । एक रोगको वर्णन रोग उत्पत्ति स्थान, लक्षण, वर्ण, बनावटको आधारमा अनेक स्वरुप देखाउन सक्छ । त्यसको अवस्था अनुसार नामाकरणको कुनै आवश्यक्ता हुँदैन । तसर्थ, लक्षण मिल्दो रोगहरूको एक समुहमा सङ्ग्रह गरिन्छ तसर्थ चिकित्सा कर्ममा सहजता हुन सकोस् । यो रोगहरूको समुहलाई एक स्थानमा सङ्ग्रह गर्नाले समान स्वरुप भएका रोगहरूलाई समान चिकित्सा विधिले चिकित्सा कर्म गर्न सकियोस् । (च. सू. १८।४२–४३, चक्र.)

जनपदोध्वंंश विकार (च. वि. ३।६) मा भनिएको छ कि भिन्न–भिन्न ठाउँमा बस्ने, भिन्न–भिन्न स्वरूपहरू भएका मानिसलाई एकै समयमा एकै लक्षण देखिने रोगहरूले आक्रान्त पारि जनपदलाई नष्ट गर्छ भने त्यो जनपदोध्वंश हुन्छ । यो कोरोना सङ्क्रमणकालको अवस्थामा देखिएको लक्षण जस्तै हो । अतः कोरोना सङ्क्रमण जनपदोध्वंश व्याधिमा उल्लेख गर्न सकिन्छ । यसै नियमलाई मान्दै कोरोना भाईरस सङ्क्रमणलाई आगन्तुज रोगमा या बाहिरी कारणले उत्पन्न सङ्क्रमणजन्य जनपदोध्वंंशकजन्य रोगमा राखिन्छ भने उपचारमा कोरोना भाईरसको लक्षणमा विचार गरेर लाक्षणिक चिकित्साको विधि अपनाईएको छ । त्यस्तै कोरोना सङ्क्रमणले मानव शरीरमा व्याधिक्षमत्वमा प्रभाव पार्ने भएकोले त्यसलाई पनि सन्तुलन गर्न र श्वास–प्रश्वासजन्य रोगहरूको लक्षण देखिने भएकाले त्यसको लाक्षणिक उपचारको लागि अनेक औषधिहरूको निर्देश गरिएको छ । सङ्क्रामकजन्य किटाणुहरू, जीवहरू, परजीवीहरू, अदृश्य सुक्ष्म ब्याक्टेरिया, भाईरसहरूको शरीरमा प्रवेश मात्रले रोग उत्पन्न गर्छ भन्ने हैन । त्यस जीवहरूले शरीरको क्रियात्मक तथा रचनात्मक संरचनाहरुलाई नकारात्मक प्रभाव गर्दछन र शरीरको व्याधिक्षमत्वलाई अवरोध गरेर रोगको उत्पत्तिमा कारण भूमिका खेल्दछन् । यस क्रममा शरीर निर्माणको आधारभूत तत्वहरु जस्तैः कोष, तन्तु या धातु, वायु, उर्जा उत्पन्न गर्ने तत्वहरू या पित्त, शरीरको संरचनालाई बनाई राख्ने तत्वहरू या कफको बनावट र कार्यमा असर गरेर अनेक रोगहरूको उत्पन्न गर्दछन । यसरी यसै जुन आधारभूत स्वरूपलाई नष्ट गर्छ, त्यस रोगको नाम त्यो आधारभूत शरीर निर्माणको अंशको आधारमा राखिन्छ । (च.सू.१९।५, चक्र.)

यसरी लक्षण, शरीरमा प्रभाव तथा असर, स्वरुप आदिको आधारमा कोरोना भाईरस आयुर्वेद सम्मत आगन्तुज सन्निपातज ज्वर जसमा वातकफज प्रधानता (च.चि.३।९२) युक्त व्याधिको रुपमा उल्लेख गर्न सकिन्छ । यो पनि एक अवस्था विशेष मात्र हो । रोगको शरीरमा प्रभाव पर्ने आधारमा व्याधिको स्वरूपमा पनि परिवर्तन हुन्छ ।

व्याधिक्षमत्व या रोगप्रतिरोधात्मक क्षमत्वको आयुर्वेदमा उल्लेख प्रष्ट रूपमा गरेको पाइन्छ । व्याधिक्षमत्व भनेको रोग लाग्न नदिनु या रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नु हो ।

व्याधिक्षमत्व या रोग प्रतिरोधात्मक औषधिको मुख्य उद्देश्य भनेको कुनै रोग शरीरमा लागेमा वा बाहिरी सङ्क्रमणको कारण शरीर आक्रान्त भएमा रोगको बललाई कम गर्ने र त्यस रोगले उत्पन्न  गर्ने अनेक लक्षणहरूलाई कम गर्ने हो । अनुक्त या पहिचानमा नभएका रोगहरुमा भने रोग उत्पत्ति नै हुन नदिनु, लक्षण उत्पन्न हुन नदिनु तथा लक्षण उत्पन्न भएता पनि त्यसलाई दबाएर शरीरको रक्षा गर्नु हो । (चक्र.)

व्याधिक्षमत्वले रोगको नष्ट गरी शरीरलाई सामान्य अवस्थामा पूनः ल्याउन सक्ने बनाउछ । (च. नि. ४)
शरीरको स्वस्थ अवस्थाको तुलना त्यो शरीरमा रोग प्रतिरोधात्मक शक्तिको आधारमा हुन्छ । जीवनको आधार पनि रोगहरूले आक्रान्त पारेको शरीरमा त्यस रोगप्रति लड्ने  रोग प्रतिरोधात्मक शक्तिमा निर्भर हुन्छ । शरीरमा रोगसँग लड्ने शक्ति भएमा शरीरको बल कायम रही कुनै रोगले पनि आक्रमण सहजै गर्न सक्दैन ।

शरीरको यस प्रकारको रोगसँग लड्ने शक्तिको विकासको वृद्धि  चाडैं गर्नको लागि आहार-औषधि, रसायन सेवन, नैमितिक रसायन (सामान्य मानिसलाई व्याधिक्षमत्व वृद्धिको लागि समयानुसार अपनाईने रसायन विधि), ध्यान, मौसमानुसारको खानपिन आदिमा विचार गर्नुपर्छ । त्यस्तै दैनिकी खानपानमा विचार, मौसमानुसारको आहार–विहार सेवन, योग, प्राणायम, चिकित्सकले तोकेका आहार सेवन, दैनिकी क्रियाकलापमा नृत्य, गान, सत्सँग, भजन–कृतन, भक्ति जस्ता कार्य गरेर रोग प्रतिरोधात्मक शक्तिको वृद्धि गरिन्छ ।
आयुर्वेदमा उल्लेख भएका अनेकौं जडिबुटीहरू मध्ये हाल कोरोना भाईरस सङ्क्रमणको समयमा प्रख्यात जडिबुटीमा गुर्जो, अश्वगन्धा, शुठो, मरिच, पिप्पली, दालचीनी, बेसार, धनियाँ, जिरा, लसुन, ज्वानो, तुलसी पर्दछन । योसँगै योगाभ्यास, व्यायाम, लघु भोजन, नस्य (नाकमा औषधिय गुण युक्त तेल जस्तैः तिल, तोरीको तेलको प्रयोग), मन तातो पानीले मुख कुल्ला गर्ने, मनतातो पानीको प्रयोग गर्ने, च्यवनप्राशको प्रयोग आदि उपायहरू उल्लेख छन ।

शुठो, मरिच, पिप्पलीको प्रयोग सामान्यतया श्वासप्रश्वास प्रणालीमा प्रभाव गर्ने रोगहरू जस्तैः कास, श्वास रोगहरुमा गरिन्छ । शुठोमा उडनशील तेल १–३ प्रतिशत, जिन्जेरोल, शोगोल नामका प्रख्यात रासायनिक तत्वहरु हुन्छन । मरिचमा पाइपरीन, पाइपरीडिन तथा चविसीन, उडनशील तेल जस्ता रासायनिक तत्वहरू हुन्छन । पिप्पलीमा भने उडनशील तेल, पाइपरीन ५.६.४ प्रतिशत, पाइपरीडीन, चविसीन हुन्छ । यो रासायनिक सङ्गठनहरूले शरीरको श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउदै रोग सहजै लाग्न नदिने हुन्छ र शरीरको प्रतिरक्षा प्रणाली वृद्धिमा महत्वपुर्ण भूमिका राख्दछन् । कोरोना सङ्क्रमणमा श्वासप्रश्वास प्रणालीलाई प्रत्यक्ष असर पार्ने भएकोले लाक्षणिक उपचारको रूपमा यो जडिबुटीहरुको प्रयोग गरिन्छ साथै शरीरको रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुने गर्दछ । यो अनुसन्धानबाट प्रमाणित भएको जडिबुटीहरू हुन । यो जडिबुटीको प्रयोग कोरोना उपचारको  लागि प्रयोग गर्न सकिन्छ कि सकिदैन भन्ने अध्ययन–अनुसन्धान भने हुँदै छ । गुडूची या गुर्जोमा गिलोइन, गिलोइनिक, गिलोस्टेरोल, स्टार्च जस्ता अनेक रासायनिक तत्वहरू पाईन्छ । यो पोषक औषधिय गुणयुक्त जडिबुटी हो । यसको प्रयोग ज्वरोमा, रोग लागे पछि उत्पन्न भएको शारीरिक दुर्वलता हटाउनको लागि र शरीरको बल वृद्धि गर्दै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नमा प्रयोग गरिन्छ ।

अश्वगन्धा आयुर्वेदमा उल्लेख भएका जडिबुटीहरू मध्ये श्रेष्ठ मानिन्छ । यसमा विथेनियाल नाम पदार्थ पाईन्छ । यो जडिबुटीले शरीरमा बल दिने, रसायन, शरीर वृद्धिकर, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्दछ । वेसारमा करक्यूमिन नाम एक पहेलो पदार्थ हुन्छ । साथ–साथै उडनशील तेल, करक्यूमेन, स्टार्च २४ प्रतिशत, अल्ब्युमिनाएड्स ३० प्रतिशत हुन्छ । यी रासायनिक तत्वहरुको मुख्य काम भनेको श्वास प्रश्वासजन्य रोगहरूको प्रभावलाई कम पार्नुहो । ज्वानोमा एपोईल नामकको पदार्थ, जीरामा उडनशील तेल ३.१-७प्रतिशत, धनियाँमा कोरियन्ड्रोल ४५–५५ प्रतिशत, उडनशील तेल १ प्रतिशत, तुलसीमा ०.७ प्रतिशत उडनशील तेल, तेजपातमा उडनशील तेल, राल ४ प्रतिशत, लिगनिन, ब्यासोरीन जस्ता रासायनिक सङ्गठनहरू हुन्छन । यी सम्पुर्ण रासायनिक तत्वहरूले श्वासप्रश्वासजन्य रोगहरू कम गर्नमा प्रत्यक्ष भूमिका खेलेका हुन्छन् । तसर्थ, कोरोना भाईरस जस्ता अनेक श्वासप्रश्वास  सङ्क्रमणजन्य रोगमा यिनिहरूको प्रयोग हुन्छ र हाल कोरोना सङ्क्रमणमा यी जडिबुटीहरूको व्यापक प्रयोग भएको छ । त्यस्तै औषधीहरूमा तालिसादि चूर्ण, सुदर्शन चूर्ण, शितोपलादि चूर्ण, च्यवनप्राश, संजिवनी वटी, धान्वन्तर गुटिका आदि औषधिको प्रयोग सङ्क्रमणको अवस्था अनुसार विचार गरेर सङ्क्रमित रोगीलाई सेवन गराईन्छ ।

योगाभ्यासले श्वासप्रश्वासको क्षमता वृद्धि गर्छ । नृत्य, सङ्गीतले मनमा आनन्द बनाउछ भने ध्यानले मनलाई एकाग्र बनाउछ र चिन्तित हुन दिदैन, मनलाई प्रशन्न राख्दछ । दिनमा नसुत्ने, सन्तुलिन लघु भोजन गर्ने, प्रशस्त झोलिलो कुरा खाने, मनतातो पानीको सेवन गर्ने आदि क्रियाहरू गर्नाले मानिसले कोरोना जस्तो सङ्क्रमित रोगहरूबाट मुक्ति पाउन सहजता हुनेछ । यी उल्लेखित विधिहरू हाल कोरोना जस्तो सङ्क्रमणमा अधिक प्रयोग भएको आयुर्वेद चिकित्सा पद्धतिका केही महत्वपूर्ण उपक्रमहरू हुन् ।

(च.सू., च.वि., च.सि., चक्र., च.चि. शब्दहरू आयुर्वेदको मुख्य पुस्तक चरक संहिताको सूत्र, विमान, सिद्धि, चिकित्सा स्थानबाट, अ.हृ.सूू. या अष्टांङ्गहृृृदय सूूूत्र, सु.सूू या सुुुुश्रुुत सुुुुत्रबाट संस्कृत भाषालाई अनुवाद गरी नेपाली भाषामा सरलताले बुझाउनको लागि लिईएको हो ।)

(लेखकः राष्ट्रिय आयुर्वेद संस्थान, जयपुरमा आयुर्वेद स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ)

यसमा तपाइको मत

अन्य समाचार