लोकनाथ पौड्यालको ‘प्रोफाइल डकुमेन्ट्री’ सार्वजनिक

बिर्तामोड,
असोज १४ ।

सामाजिक, साहित्यिक तथा आध्यात्मिक क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका बहुआयामिक व्यक्तित्व लोकनाथ पौड्यालको जीवनयात्रा समेटिएको ‘प्रोफाइल डकुमेन्ट्री’ सार्वजनिक गरिएको छ । बिर्तामोडमा आयोजित विशेष कार्यक्रमबीच पौड्यालको जीवनमा आधारित करिब ३५ मिनेट लामो वृत्तचित्र सार्वजनिक गरिएको हो ।

वृत्तचित्रमा पौड्यालको कर्म, संघर्ष, पारिवारिक पृष्ठभूमि, उपलब्धि तथा सामाजिक, साहित्यिक र आध्यात्मिक क्षेत्रमा पुर्‍याएको योगदानलाई समेटिएको छ । डिजिटल फर्म्याटमा तयार पारिएको वृत्तचित्रमा अर्जुनधारा, बिर्तामोड र सूर्योदय नगरपालिकालगायत विभिन्न स्थानका दृश्यसमेत समावेश गरिएको छ ।

प्रविधिको विकाससँगै सञ्चारको दायरा फराकिलो हुँदैगएको सन्दर्भमा पौड्यालको जीवनका विभिन्न पक्षलाई डिजिटल माध्यमबाट अभिलेखीकरण गरी आम दर्शकमाझ पुर्‍याउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको जनाइएको छ ।

कार्यक्रममा चित्रा पौड्यालले स्वागत मन्तव्य राख्दै वृत्तचित्र निर्माणको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको समापन साहित्य चौतारीका संस्थापक देवीभक्त श्रेष्ठले गर्नुभएको थियो भने सञ्चारकर्मी तिलक योन्जनले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

वृत्तचित्रको लेखन तथा निर्देशन सञ्चारकर्मी दिपेन भेटवालले गर्नुभएको हो । लामो समयदेखि टेलिभिजन कार्यक्रम उत्पादनमा सक्रिय भेटवालले यसअघि विभिन्न वृत्तचित्र, विज्ञापन तथा म्युजिक भिडियो निर्देशन गरिसक्नुभएको छ ।

वृत्तचित्रको छायांकन सन्तोष घिमिरे र विष्णु श्रेष्ठले गर्नुभएको छ भने सम्पादन आशिष पौड्यालले गर्नुभएको हो । त्यसैगरी संयोजनमा जितेन्द्र श्रेष्ठ र व्यवस्थापनमा सुमन अधिकारी रहनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार