काठमाडौं,
मंसिर २२ ।
गीत गायन तथा सामाजिक सेवाको माध्यमवाट विश्वमाझ नेपाल र नेपाली चिनाउने अभियानमा लागेकी गायिका देशु गोलेले नेपालमा देशु गोले फाउण्डेसन नेपाल नामक सामाजिक संस्था खोलेकी छन् । जसवाट असहाय-अनाथ बालबालिकालाई सहयोग गर्नुको अलावा विपन्न वर्गको पूर्नरउत्थानका लागि विविध सामाजिक कार्य गर्न थालेको जानकारी गायिका देशु गोलेले दिएकी छन् ।
यतिखेर बेलायतमा रहेकी देशु गोले बेलायतवाट बेला–बेला नेपाल आएर गीत रेकर्ड गर्ने तथा विभिन्न सामाजिक सेवा गर्ने कार्य गर्दैआएकी छन् । बेलायत लगायत विभिन्न मुलुकवाट सङ्कलन गरेका सहयोग नेपालमा वितरण गर्ने कार्य गायिका देशु गोलेवाट हुँदैआएको छ ।
आफूले सक्दो सहयोग पनि प्रदान गर्ने कार्य गर्दैआएकी गायिका देशु गोलेले धरान १५ श्यामचोकमा रहेको नियूने लाखाङ्ग गुम्वा निर्माण र गुम्वाका लागि आवश्यक सामाग्री खरिद गर्न ८ लाख ३० हजार रुपैया सहयोग प्रदान गरेकी छन् । गायिका गोलेले सो गुम्वाका आश्रित अनाथ तथा असहाय वालवालिकाको शिक्षाका लागि देशु गोले फाउण्डेसन नेपालमा ६ लाख ३६ हजार ८ सय २० रुपैयाको अक्षय कोष पनि स्थापना गरेकी छन् ।
अक्षयकोषवाट आर्जित व्याज रकमवाट अनाथ तथा असहाय बालबालिकाको शिक्षामा टेवा पुग्ने जिकिर गोलेको रहेको छ । असहाय तथा अनाथ वालवालिकाको शिक्षाका लागि स्थापना गर्न लागिएको सो अक्षयकोषमा रकम सहयोग गर्न बेलायतमा आव्हान गरेअनुरुप उक्त रकम सङ्कलन भएको हो । गुम्वाले सडकबाट उद्दार गरिएका १२ जना वालवालिकालाई गाँस,बास,कपास सहित शिशु कक्षा देखि १० सम्म अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्दै आएको छ ।
त्यसको अलावा, गायिका गोलेले सुरेन्द्र बमजनको खुट्टा उपचार गर्नलाई १६ हजार रकम सहयोग गरेको छ । खेलकुड सामाग्री जोड्नका लागि धरान फुटबल क्लब लाई २५ हजार प्रदान गरिएको छ । त्यस्तै एक पीडित महिलालाई उपचार्थ ९ हजार रकम सहयोग गर्ने कार्य पनि गायिका गोलेवाट भएको छ। त्यस्तैगरेर, नगद २ हजारको दरले ५ जनालाई आर्थिक सहयोग गर्ने कार्य गरेका गोलले तामाङ्ग सेलो संगीत र तामाङ्ग खाना महाउत्सबलाई १० हजार दिनुको अलावा अरु थुप्रै दान–धर्म गरेकी छन् ।
बेलायतमा विगत १३ बर्षदेखि बस्दै आएकी गायिका देशु गोलेको नेपाली आधुनिक गीत गायनमा बेग्लै पहिचान रहेको छ । गीत गाउन तथा गीत लेख्न असाध्यै मन गर्ने गायिका गोेलेको गायन यात्रा शुरु भएको पनि धेरै बर्ष भैसकेको छ । यदाकदा बेलायतमा हुने स्टेज प्रोग्राम तथा साथीभाइ माझको मेहफिलमा मखमली स्वरवाट गीत गाउने गायिका गोलेको गीतमा खुशी भन्दा बढी गम्भिरता पाउने गरिएको छ ।






