‘जदौ’को ट्रेलरमा जातीय विभेदविरुद्धको कथा

काठमाडौं,
असोज २ ।

प्रतीक्षित नेपाली चलचित्र ‘जदौ’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको चलचित्रको करिब सवा दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धप्रति नेपाली समाजमा व्याप्त विभेद, भेदभाव र सामाजिक उल्झनलाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा चलचित्रको मूल कथालाई भने सस्पेन्समै राखिएको छ । हाँसो, रोमान्स र रोदनको मिश्रण देखाइएको ट्रेलरले सामाजिक विषयसँगै मनोरञ्जनात्मक पक्षलाई पनि समेटेको संकेत गर्छ । काजी लिम्बूको लेखन रहेको ‘जदौ’लाई निर्माण पक्षले सामाजिक सन्देशसहितको मनोरञ्जनात्मक चलचित्रका रूपमा प्रस्तुत गरेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक अञ्जन शर्माले नेपाली समाजमा अझै कायम जातीय विभेद तथा धनीमानीबाट गरिब–निर्धामाथि हुने थिचोमिचोविरुद्ध चलचित्रमार्फत सशक्त आवाज उठाउने प्रयास गरिएको बताउनुभयो । चलचित्रले नेपाली जनजीवनको मौलिक कथा बोकेको उल्लेख गर्दै उहाँले यसले मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्का निर्देशक तथा लेखक काजी लिम्बूले आफूहरूले लामो समयदेखि भन्न चाहेको कथा ‘जदौ’मार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँका अनुसार ‘जदौ’ हेर्ने मात्र नभई महसुस र मनन गर्नुपर्ने विषयमा आधारित चलचित्र हो ।

अभिनेता मुकुन भुसालले ‘जदौ’मा आफूले विगतका चलचित्रभन्दा फरक भूमिका र चरित्र निर्वाह गरेको बताउनुभयो । अभिनेत्री नीति शाहले चलचित्रका लागि निकै मिहिनेत गरेको उल्लेख गर्दै त्यसको परिणाम सुखद आउनेमा आशावादी रहेको बताउनुभयो । अभिनेता प्रभात पाल ठकुरीले ‘जदौ’ आफ्नो करिअरका लागि महत्वपूर्ण चलचित्र भएको बताउँदै दर्शकलाई चलचित्र हेर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अभिनेत्री गीता अधिकारी र अभिनेता नरेश पौड्यालले पनि चलचित्रमा आफूहरूले निर्वाह गरेको भूमिकाबारे जानकारी दिँदै ‘जदौ’ राम्रो बनेकाले दर्शकको साथ पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यकारी निर्मात्री शान्ति पुडासैनीले लामो मिहिनेत र दुःखका साथ चलचित्र निर्माण गरिएको बताउँदै दर्शकलाई चलचित्र हेर्न आग्रह गर्नुभयो ।

निर्माता डिल्लीराज पोखरेलले ‘जदौ’ले मनोरञ्जनसँगै जातीय विभेदविरुद्धको आवाजलाई पनि उठाएको बताउनुभयो । उहाँले सामाजिक विषयमा बनेका चलचित्रलाई दर्शकको साथ आवश्यक रहेको धारणा राख्नुभयो । चलचित्रकी कन्सेप्ट डिजाइनर विमला भण्डारीले पनि आम नेपाली दर्शकलाई ‘जदौ’ हेर्न आग्रह गर्नुभयो ।

असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मा, गीता अधिकारी, नरेश पौड्याल, राजश्री थापा, विनोद न्यौपाने, खड्कबहादुर पुन (खबपु), सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा देवकोटा लगायतका कलाकारको अभिनय छ ।

श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको चलचित्रमा राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सहनिर्माताका रूपमा हुनुहुन्छ । सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता तथा शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको चलचित्रलाई एनजिसिएन ग्रुपले वितरण गर्दैछ ।

समीश्रण मुभीज एन्ड इन्टरटेन्मेन्टले सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रको शीर्ष गीत ‘जदौ हजुर…’ र प्रेमिल गीत ‘तिमीसँग नबोली…’ अहिले दर्शक-स्रोतामाझ चर्चामा छन् । यसअघि सार्वजनिक गरिएको चलचित्रको टिजरले पनि दर्शकको ध्यान खिचिसकेको निर्माण पक्षको भनाइ छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा ‘जदौ’ निर्माण पक्षले गोलाप्रथामार्फत सात जना सञ्चारकर्मीलाई विभिन्न उपहारसमेत प्रदान गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार