काठमाडौं,
असोज २ ।
विश्व बाँस दिवसका अवसरमा आज (शुक्रबार) असोज २ गते) नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा बाँस अभियन्तासमेत रहनुभएका नगरप्रमुख तीर्थराज भट्टराईको पहलमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ । काठमाडौंमा भने ‘पोटेन्सियल अफ बेम्बो फर पोष्ट डिजास्टर कन्ट्रक्सन’ विषयमा अन्तरक्रिया कार्यक्रम हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेन्टर फर अर्बान प्लानिङ स्टडिज, ग्रिन बेम्बो क्रियशन्स र कान्तिपुर इञ्जिनियरिङ कलेजको संयुक्त आयोजनामा हुने अन्तरक्रियामा बाँसको बहुउपयोगिता, निर्माण क्षेत्रमा यसको सम्भावना तथा विपद्पछिको पुनर्निर्माणमा बाँसको प्रयोगलगायत विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने जनाइएको छ ।
नेपालमा बाँसको प्रवर्द्धन तथा व्यावसायिक प्रयोगका लागि नीतिगत पहल भने खोटाङको दिक्तेलमा आयोजित प्रथम राष्ट्रिय बाँस सम्मेलनपछि थप अघि बढेको हो । २०८१ साल फागुन १५, १६ र १७ गते दिक्तेलमा आयोजना गरिएको सम्मेलनमा बाँसको उत्पादन, उपयोग, प्रवर्द्धन र व्यावसायीकरणका विषयमा छलफल भएको थियो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहेको सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, बबरमहल, काठमाडौं, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशसहित विभिन्न सरकारी तथा गैरसरकारी निकाय, वन उपभोक्ता समूह, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका प्रतिनिधिको सहभागिता थियो । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनपछि बाँसलाई निर्माण सामग्रीका रूपमा प्रयोग गर्न सहज हुने गरी नीतिगत व्यवस्था गर्न नगरप्रमुख भट्टराईले काठमाडौंमा अनशनसमेत बस्नुभएको थियो । उहाँको अनशनपछि तत्कालीन सरकारले बाँसलाई भवन निर्माण सामग्रीका रूपमा मान्यता दिने प्रक्रिया अघि बढाएको थियो । अहिले भवन संहितामा बाँसबाट निर्माण हुने घरलाई समेत समावेश गरिएको छ ।
बाँसलाई भवन निर्माण सामग्रीका रूपमा मान्यता प्राप्त भएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बाँसको प्रयोग गरी केही विद्यालय भवन तथा रेडक्रस भवन निर्माण गरेको नगरप्रमुख भट्टराईले बताउनुभयो । उहाँका अनुसार नगर क्षेत्रमा अन्य प्रयोजनका लागि पनि बाँसबाट संरचना निर्माण गर्ने काम भइरहेको छ ।
बाँस अभियन्ताहरूले उपेक्षित अवस्थामा रहेको बाँसलाई ‘ग्रिन गोल्ड’ अर्थात् हरित सुनका रूपमा व्याख्या गर्दै आएका छन् । निर्माण क्षेत्रमा बाँसको व्यापक प्रयोग गर्न सके नेपालमा डन्डी तथा प्लास्टिकजस्ता निर्माण सामग्रीका लागि बाहिरिने रकम घटाउन सकिने र स्वदेशमै रोजगारी तथा उत्पादन बढाउन सकिने उनीहरूको भनाइ छ ।
नेपालमा बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति पाइने बताइए पनि वनस्पति विभागले हाल ४० प्रजातिलाई मात्र स्वीकृति दिएको जनाइएको छ । बाँसलाई कृषि, निर्माण, फर्निचर, हस्तकला तथा विभिन्न दैनिक उपभोगका सामग्रीमा प्रयोग गर्न सकिन्छ ।
मानव जीवनसँग लामो समयदेखि अन्योन्याश्रित सम्बन्ध रहेको बाँस जन्मदेखि मृत्युसम्म विभिन्न संस्कार तथा व्यवहारमा प्रयोग हुँदैआएको छ । वातावरणीय दृष्टिले समेत महत्वपूर्ण मानिने बाँसले कार्बन अवशोषणमा योगदान गर्ने भएकाले जलवायु परिवर्तन न्यूनीकरणमा समेत यसको भूमिका महत्वपूर्ण रहेको अभियन्ताहरूको भनाइ छ ।






