प्रदर्शनमा ‘झिंगे दाउ-२’, ‘कार्की साइँला’ र ‘माया बस्छ कि क्या हो !’

काठमाडौं,
असोज २ ।

आजदेखि एकैपटक तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि देशभरका सिनेमा घरमा ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ-२’, राजु अधिकारी निर्देशित ‘माया बस्छ कि क्या हो !’ र राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ प्रदर्शनमा आएका हुन् ।
तीनवटै चलचित्रले फरक-फरक विषयवस्तु र कथामार्फत दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । पारिवारिक सम्बन्ध, प्रेम, पुस्तान्तरण, संघर्ष तथा सामाजिक परिवेशलाई कथाको केन्द्रमा राखिएका यी चलचित्रमध्ये केही लामो समयको तयारीपछि दर्शकमाझ आएका छन् भने केहीले पारिवारिक तथा सामाजिक कथावस्तुलाई मनोरञ्जनसँग जोडेर प्रस्तुत गरेका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्र ‘झिंगे दाउ-२’ले पारिवारिक सम्बन्धभित्र देखिने द्वन्द्व, माया, त्याग र भावनात्मक उतारचढावलाई कथाको आधार बनाएको छ । चलचित्रमा दाजुभाइ तथा देउरानी-जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम तथा आमा खोज्ने कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता हुनुहुन्छ ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको लेखन गोविन्द फुयाँल र शिशिर चालिसेले गर्नुभएको हो ।

विष्णु घिमिरे ‘कल्पित’ले छायांकन गर्नुभएको चलचित्रमा मित्र डी.गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । चलचित्रको बुधबार काठमाडौंमा विशेष समारोहबीच प्रिमियर गरिएको थियो । प्रिमियरमा सहभागी दर्शक तथा चलचित्रकर्मीबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको थियो ।

यस्तै, राजेन्द्र बस्नेत निर्देशित चलचित्र ‘कार्की साइँला’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र प्रेमकथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । चलचित्रमा ‘कार्की साइँला’ नाम गरेका एक भरियाको जीवनी, संघर्ष र जीवनमा आइपर्ने विभिन्न उतारचढाबलाई कथाको केन्द्रमा राखिएको छ । प्रेमकथासँगै पात्रको जीवन संघर्षलाई जोडेर चलचित्र निर्माण गरिएको बताइएको छ ।
चलचित्रको छायांकन पूर्वी नेपालको प्राकृतिक तथा रमणीय स्थलहरूमा गरिएको छ । धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरालगायतका स्थानमा चलचित्रको छायांकन गरिएको हो । पूर्वी नेपालको भौगोलिक तथा प्राकृतिक परिवेशलाई पर्दामा देखाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा जितु नेपाल र प्रियना आचार्य (मुन्नी)सँगै सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटालगायत कलाकारले अभिनय गर्नुभएको छ । कर्णबहादुर फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुनुहुन्छ । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता तथा अनन्त राई कार्यकारी निर्माता हुनुहुन्छ ।

आज (शुक्रबार)देखि प्रदर्शनमा आएको अर्को चलचित्र ‘माया बस्छ कि क्या हो !’ भने निर्माण भएको करिब पाँच वर्षपछि दर्शकमाझ आएको हो । राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्रले जेन-जी पुस्ताको प्रेमकथालाई प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा सोनाल तामाङ र कस्मता निरौलाको मुख्य भूमिका छ । दुवै कलाकारले यही चलचित्रबाट अभिनय यात्राको सुरुवात गर्नुभएको हो । नयाँ पुस्ताको प्रेम, सम्बन्ध र भावनालाई केन्द्रमा राखेर चलचित्रको कथा तयार गरिएको बताइएको छ । चलचित्रमा सोनाल र कस्मतासहित नरेन्द्र थापा, रिचा थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, जेपी पाण्डेलगायत कलाकारको अभिनय छ ।

जनपुकार मिडिया हाउसको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता शरद अधिकारी र निर्माता बहादुरसिंह तामाङ हुनुहुन्छ । चलचित्रको छायांकन नेपालसँगै युरोपका विभिन्न मुलुकमा गरिएको छ । काठमाडौं र चित्लाङका अतिरिक्त बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा समेत चलचित्रको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार