काठमाडौं,
असोज २ ।
नेपाली लोकदोहोरीको मौलिकता, संस्कृति र नयाँ प्रतिभालाई एउटै मञ्चमा जोड्ने सांगीतिक कार्यक्रम ‘लोक दोहोरी स्टार सिजन २’ यही असोज आइतबार ४ गतेदेखि टेलिभिजनमा प्रसारण हुने भएको छ ।
एभेन्टोज स्टुडियोको आयोजनामा तयार भएको कार्यक्रम हरेक आइतबार र सोमबार राति ८ बजे एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ । टेलिभिजनसँगै दर्शकले एभेन्टोज डिजिटलको युट्युब च्यानलमार्फत पनि कार्यक्रम हेर्न सक्ने आयोजकले जनाएको छ ।
कार्यक्रमको दोस्रो सिजनमा लोकदोहोरी क्षेत्रका चर्चित कलाकार कोमल ओली, राजु परियार र चन्द्र शर्मा निर्णायकका रूपमा रहनुहुनेछ ।
कार्यक्रमका आयोजक यादवबहादुर थापाका अनुसार ‘लोक दोहोरी स्टार’ले नयाँ पुस्ताका प्रतिभाशाली गायक-गायिकालाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउँदै नेपाली लोकदोहोरीको मौलिकता र सांस्कृतिक पक्षलाई थप प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
नयाँ प्रतिभाको खोजी तथा नेपाली लोकदोहोरी संगीतको संरक्षण र प्रवर्द्धनलाई केन्द्रमा राखेर कार्यक्रमको दोस्रो सिजन तयार गरिएको आयोजकको भनाइ छ ।






