काठमाडौं,
भदौ २६ ।
आजदेखि देशभकार सिनेमाघरमा दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि प्रदर्शनमा आएका चलचित्र हुन् सशान कँडेलको निर्देशित ‘बेहुली’ र माओत्से गुरुङको निर्देशित ‘पेन्सन पट्टा’ । यही मितिमा प्रदर्शनको मिति तय गरेको चलचित्र ‘अक्षरा’भने अन्तिम समयमा आएर सारिएको छ । अब यो चलचित्र मंसिर २४ मा प्रदर्शनमा आउने छ ।
चर्चित संगीतकार अर्जुन पोखरेलको डेब्यु लगानी रहेको ‘बेहुली’ लबस्टोरी जनरामा बनेको चलचित्र हो । माधव शर्माको लेखन रहेको यस चलचित्रमा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाँ मुख्य भूमिकामा हुनुहुन्छ । साथै सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापामगरलगायत कलाकारको अभिनय छ । द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्रको निर्माता प्रतापशमशेर राणा हुनुहुन्छ ।
त्यस्तै, ‘पेन्सन पट्टा’ सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र हो । यस चलचित्रले लाहुरे जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा समेटेको छ । चलचित्रमा दयाहाङ राई र गौमाया गुरुङ मुख्य भूमिकामा हुनुहुन्छ । साथै विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्करबहादुर गुरुङ, लुनिभा तुलाधर, सुरज तमुलगायत कलाकारको अभिनय छ । यसमा स्वर्गीय सुनील थापालाई पनि देख्न सकिनेछ ।







