काठमाडौं,
भदौ २६ ।
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व तथा युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती पनि आज विभिन्न कार्यक्रमबीच मनाइँदै छ । साहित्यिक संघ-संस्था तथा प्रतिष्ठानहरूले उहाँको व्यक्तित्व र कृतित्वमाथि चर्चा, परिचर्चा तथा साहित्यिक कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाउँदै छन् ।
राष्ट्रिय विभूतिको सम्मान पाउनुभएका भट्टको जन्म वि.सं. १९२३ भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीकै दिन भएको थियो । नेपाली गजलका महानायकका रूपमा परिचित भट्टले कविता, गजल, गीत, कथा, नाटक, निबन्ध, जीवनी तथा पत्रकारिता लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।
संयोगवश उहाँको निधन पनि वि.सं. १९५३ को कुशे औँसीकै दिन भएको थियो । जम्मा ३० वर्षको अल्पायुमा निधन भए पनि नेपाली साहित्यमा उहाँले छाडेको योगदान भने दीर्घकालसम्म स्मरणीय रह्यो ।
श्रृंगार रसलाई केन्द्रमा राखेर गजल सिर्जना गर्नुभएका भट्टलाई नेपाली गजल परम्पराको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिने साहित्यकारका रूपमा लिइन्छ । उहाँले आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र पहिलो पटक प्रकाशनमा ल्याउनुभएको थियो । भानुभक्तीय रामायणको अनुवाद तथा सम्पादनमा समेत उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो ।
साहित्य सिर्जनासँगै पत्रकारितामा पनि सक्रिय भट्टले नेपाली भाषाको प्रारम्भिक पत्रकारिताको विकासमा योगदान पुर्याउनुभयो । उहाँले ‘गोर्खा भारत जीवन’ नामक पत्रिका प्रकाशन गर्नुभएको थियो ।
भट्टका प्रकाशित कृतिहरूमा मनोद्वेग–प्रवाह, गजेन्द्रमोक्ष, पञ्चक प्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, तीजको कथा, उखानको बखान, गुलसनाबेर, बालाजी वर्णन, चाणक्य नीति, कमल भ्रमर संवाद, काशीराज चन्दसेन, संगीत चन्द्रोदय, स्वप्नाध्याय, प्रियदर्शिका, पिकदूत, कालमहिमा, शकुन्तला, कविसमूह वर्णनम् तथा कवि भानुभक्तको जीवनचरित्रलगायत रहेका छन् ।
कविता, काव्य, नाटक, गजल, गीत, जीवनी, पत्रकारिता, संवाद र सम्पादनजस्ता विविध विधामा कलम चलाएका भट्टका दुई दर्जनभन्दा बढी फुटकर कविता तथा थुप्रै गजल र गीतसमेत प्रकाशित छन् ।
यसरी कुशे औँसीले एकातिर पितृप्रति श्रद्धा र बाबुप्रतिको सम्मानको भावलाई उजागर गर्छ भने अर्कोतिर यही दिन जन्मिएका युवाकवि मोतीराम भट्टको साहित्यिक योगदानलाई स्मरण गर्ने अवसरसमेत प्रदान गर्छ । नेपाली समाजमा संस्कार, संस्कृति र साहित्यको संगमका रूपमा समेत आजको दिनलाई विशेष महत्त्वका साथ हेरिन्छ ।







