काठमाडौं,
भदौ २६ ।
हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धा, सम्मान र भक्तिपूर्वक मनाइँदै छ । हरेक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीका अवसरमा आज छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा परिकार खुवाएर सम्मान प्रकट गर्दै आशीर्वाद लिने परम्परा छ । बाबु दिवंगत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर पितृका नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदादान गर्ने चलन छ ।
कुशे औँसीका दिन वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार घरमा कुश राख्दा परिवारको कल्याण हुने विश्वास गरिन्छ । सनातन धर्मावलम्बीहरूले कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन् ।
‘पितृ देवो भवः’ भन्ने वैदिक मान्यताअनुसार जन्म दिने बाबुलाई श्रद्धा, सम्मान र सत्कार गर्ने दिनका रूपमा पनि कुशे औँसीलाई लिइन्छ । बाबु परलोक भइसकेकाहरूले काठमाडौंको गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर तर्पण तथा सिदादान गर्ने गर्छन् । यसो गर्दा पितृप्रति श्रद्धा अर्पण हुनुका साथै पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन परम्परामा जन्म दिने आमाबाबु तथा शिक्षा प्रदान गर्ने गुरुलाई जीवित देवताका रूपमा सम्मान गर्ने गरिन्छ । त्यसैले कुशे औँसी केवल बाबुलाई सम्झने दिन मात्र नभई पितृप्रति श्रद्धा, कृतज्ञता र पारिवारिक संस्कारलाई निरन्तरता दिने महत्त्वपूर्ण अवसरका रूपमा पनि लिइन्छ ।







