नर्थ क्यारोलाइन,
भदौ २६ ।
नेपाली नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीतको बजारमा नयाँ सांगीतिक प्रस्तुति ‘तीन आँखे आइफोन’ थपिएको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित क्यारी शहरमा सञ्चालित एभरेष्ट फोन तथा एभरेष्ट इलेक्ट्रोनिक्सको प्रस्तुतिमा तयार पारिएको उक्त गीत धुर्मुस-सुन्तली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तीजको परम्परागत रौनकमा आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीको रङ मिसाइएको गीतले नयाँ पुस्ताको मोबाइल फोनप्रतिको आकर्षणलाई रमाइलो र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेको छ । मौलिक तीज भाकाको स्वाद जोगाउँदै समसामयिक विषयलाई गीतमा उतार्ने प्रयासले ‘तीन आँखे आइफोन’लाई फरक पहिचान दिएको छ ।
गीतमा चर्चित गायिका कोमल ओली र अञ्जना खतिवडाले स्वर दिनुभएको छ । नर्थ क्यारोलिनाको एपेक्स निवासी अनमोल गिरीले शब्द रचना गरेको गीतमा बाबुल गिरीको संगीत, संयोजन तथा मिक्सिङ छ । गीतको श्रव्य निर्माण स्वरांकन स्टुडियोमा गरिएको हो ।
गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल, रचना न्यौपाने, अनमोल गिरी, उत्कृष्ट नेपाल, नरेश शर्मा र कृष्ण प्रधानलगायत कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोको कथा, नृत्य निर्देशन तथा समग्र निर्देशन जेरी भण्डारीले गर्नुभएको हो ।
नेपाल र अमेरिकाको नर्थ क्यारोलिनाका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा दिनेश पराजुलीको छायांकन छ । सुजन कोइरालाले दृश्य सम्पादन गरेको भिडियोको पोष्ट–प्रोडक्सन जेबी क्रिएसनले सम्हालेको हो । ‘भौगोलिक रूपमा मातृभूमिबाट टाढा रहे पनि हाम्रो मन नेपाली भाषा, कला र संस्कृतिसँगै जोडिएको छ । प्रवासमा बसेर नेपाली संगीतको संरक्षण र प्रवर्द्धनमा केही योगदान गरौं भन्ने भावनाले यो गीत निर्माण गरेका हौं’, गीतका रचनाकार अनमोल गिरीले भन्नुभयो ।







