बाढी प्रभावित क्षेत्रमा एनआरएनएको राहत अभियान जारी

काठमाडौं,
भदौ २० ।

रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरेको राहत तथा मानवीय सहयोग अभियान नवौँ दिन पनि जारी राखेको छ ।

अभियानअन्तर्गत नुवाकोटको बाघटारस्थित त्रिशूली प्रादेशिक अस्पतालको समन्वयमा स्टार स्कुलमा स्थापित होल्डिङ सेन्टरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । एनआरएनए र मेट्रो अस्पतालको सहकार्यमा आयोजित शिविरमा करिब ८० जना बाढी प्रभावित बालबालिका तथा महिलाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गरिएको थियो । शिविरमा दीर्घरोग, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी बढी भेटिएका थिए ।

यस्तै, एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मनोज गोर्खालीलगायतको टोलीले नुवाकोटको तुप्चे, त्रिशूली बजारलगायत बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी स्थानीय बासिन्दा तथा जनप्रतिनिधिसँग भेटेर तत्कालका आवश्यकता र राहतका प्राथमिकताबारे जानकारी लिएको छ ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा अस्पतालको सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले एनआरएनएले त्रिशूली अस्पताललाई जेनेरेटर सञ्चालनका लागि ४०० लिटर डिजेलसमेत उपलब्ध गराएको छ ।

बाढीमा आफन्त गुमाएर पशुपति क्रियापुत्री घरमा काजक्रिया गरिरहेका रसुवाको उत्तरगया गाउँपालिकाका प्रभावित परिवारलाई ब्ल्याङ्केट, ग्यास चुलो, खाद्यान्न, फलफूल र घिउलगायत राहत सामग्री हस्तान्तरण गरिएको एनआरएनएले जनाएको छ ।

यसैबीच, बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाउन एनआरएनएले विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तथा सम्बन्धित पक्षसँग समन्वय र संवादलाई पनि निरन्तरता दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार