यस्तो छ ‘अक्षरा’को ट्रेलर, आम्दानीको १० प्रतिशत दैवीप्रकोप उद्धार कोषमा

काठमाडौं,
भदौ २० ।

यही भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले तीन मिनेट २४ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रको ट्रेलरमा अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटासँग जबर्जस्ती विवाह गरिदिँदा उत्पन्न हुने पारिवारिक समस्या र त्यसको सामाजिक प्रभावलाई मुख्य विषय बनाइएको छ । मार्मिक तथा सन्देशमूलक कथावस्तुमा आधारित चलचित्रले नेपाली समाजको यथार्थलाई प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ ।

विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रमा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा हुनुहुन्छ । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्मित चलचित्रमा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाको लगानी छ । सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता तथा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता हुनुहुन्छ ।

निर्माता उग्रसेनको मूल कथामा अभिमन्यु निरवी र पौडेलले पटकथा तथा संवाद तयार पार्नुभएको हो । चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले गर्नुहुनेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

यसैबीच, निर्माण पक्षले चलचित्र प्रदर्शनपछि हलबाट निर्माताको भागमा आउने रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार