काठमाडौं,
भदौ २० ।
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’को तीज लक्षित गीत ‘जेठानी भर्सेस देउरानी’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक सात मिनेट लामो गीतमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी र आँचल शर्माबीचको झगडालाई प्रस्तुत गरिएको छ ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ । चलचित्रमा केकी जेठानी र आँचल देउरानीको भूमिकामा हुनुहुन्छ । गीतको भिडियोमा प्रयोग भएका संवाद तथा लाइनहरू सामाजिक सञ्जालमा चर्चित हुने निर्माण पक्षको अपेक्षा छ । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गर्नुभएको हो ।
ज्ञानेन्द्र देउजा निर्देशित यस चलचित्रमा केकी र आँचलसँगै आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रको टिजरले दर्शकको ध्यान तानिसकेको छ भने ट्रेलर केही दिनमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।
कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्मित चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजाको सह-निर्माण रहेको छ ।







