बाढीपीडितका लागि अभिनेत्री रजनीको स्वास्थ्य शिविर

काठमाडौं,
भदौ २० ।

अभिनेत्री तथा फार्मेसिस्ट रजनी केसीले नुवाकोटको विदुर नगरपालिका-४, बट्टारमा बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुभएको छ । बिहीबार काठमाडौंका डा. सुदीप पण्डितसहितको टोली लिएर गृहजिल्ला पुग्नुभएकी रजनीले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि वितरण गर्नुभएको हो ।

पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको सहकार्यमा आयोजित शिविरबाट करिब साढे दुई सय बिरामीले सेवा लिएको रजनीले जानकारी गराउनुभयो । शिविरसँगै पीडितलाई खाद्य सामग्री, लत्ताकपडा, सरसफाइका सामग्री तथा बालबालिकालाई शैक्षिक र खेलकुद सामग्रीसमेत वितरण गरिएको जनाइएको छ ।

यही भदौ १० गते आएको बाढीपछि उद्धार तथा राहतमा सक्रिय रजनीले बाढीमा मावली हजुरआमा, माइजू, भाइ, बुहारीलगायत आफन्त गुमाउनुभएको छ । व्यक्तिगत पीडाका बाबजुद उहाँ निरन्तर उद्धार तथा राहतमा खटिँदै आउनुभएको छ । रजनीको अभिनय रहेको चलचित्र ‘छ माया छपक्कै २’ यही बडा दशैँमा प्रदर्शनमा आउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार