‘पेन्सन पट्टा’लाई ‘यू’ प्रमाणपत्र

काठमाडौं,
भदौ १९ ।

माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यू) प्रमाणपत्र पाएको छ । प्रमाणीकरणसँगै चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्रको रनटाइम दुई घण्टा आठ मिनेट छ ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ । पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढ्दै हराएकी जेठी आमाको खोजीसँगै पारिवारिक विगत, सम्बन्ध, पहिचान र पेन्सन अधिकारका जटिलता प्रस्तुत गरिएको छ ।

अभिनेता दयाहाङ राईले चलचित्र नेपाली समाजसँग नजिकबाट जोडिएको कथा रहेको बताउनुभयो । उहाँका अनुसार ३०-४० वर्षअघि भूतपूर्व गोर्खालीको पेन्सन परिवारका लागि विशेष महत्वको विषय थियो । निर्देशक गुरुङले पनि गोर्खालीको निधनपछि परिवारले पेन्सन प्राप्त गर्न भोग्ने समस्या र त्यसले निम्त्याउने पारिवारिक उतारचढावलाई चलचित्रमा समेटिएको बताउनुभयो ।

चलचित्रमा दयाहाङसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ लगायतका कलाकारको अभिनय छ । रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्म्समार्फत चलचित्रको देशव्यापी वितरण गर्नेछन् ।

यसमा तपाइको मत

अन्य समाचार