काठमाडौं,
भदौ १९ ।
हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व श्रीकृष्ण जन्माष्टमी आज (शुक्रबार) देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने यस पर्वमा नेपालसहित विश्वभरका हिन्दू धर्मावलम्बी तथा श्रीकृष्णका भक्तजनले भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गर्दछन् ।
श्रीकृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती, श्रीजयन्ती तथा सामान्य रूपमा जन्माष्टमीसमेत भन्ने गरिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको थियो । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिलाउन वासुदेव र देवकीको आठौँ गर्भबाट श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
श्रीकृष्णको जन्मदिनका रूपमा आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णले मानव जीवन, कर्तव्य र धर्मका विषयमा महत्त्वपूर्ण उपदेश दिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
कुरुक्षेत्रमा कौरव र पाण्डवबीच भएको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई समेटिएको ‘श्रीमद् भगवद्गीता’ हिन्दू धर्मावलम्बीहरूको पवित्र ग्रन्थका रूपमा मानिन्छ । गीता विश्वका विभिन्न भाषामा अनुवाद भइसकेको छ ।
धार्मिक ग्रन्थ तथा मान्यताअनुसार बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध र शिशुपाल जस्ता दानवी प्रवृत्तिको अन्त्य गर्नुभएको थियो । त्यसैले श्रीकृष्णलाई धर्मको रक्षा, अधर्मको अन्त्य र मानव कल्याणका प्रतीकका रूपमा समेत श्रद्धापूर्वक स्मरण गर्ने गरिन्छ ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न कृष्ण मन्दिरमा विशेष पूजा, आराधना तथा धार्मिक कार्यक्रम आयोजना हुने गर्दछ । ललितपुरको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लाग्ने गर्दछ । त्यस्तै, उपत्यकाको पूर्वी भेग गोठाटारस्थित नवनतधाम तथा उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत संघ (इस्कोन)को कृष्ण मन्दिरमा पनि विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ ।
देशका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिर तथा धार्मिक संघसंस्थाले पनि जन्माष्टमीको अवसरमा विशेष पूजा, भजन-कीर्तन, प्रवचन, कृष्णलीला तथा झाँकीसहित शोभायात्रा आयोजना गर्ने परम्परा रहेको छ । भक्तजनहरू दिनभर उपवास बसेर राति भगवान् श्रीकृष्णको जन्म भएको समय पारेर पूजा-आराधना गर्ने गर्दछन् ।
श्रीकृष्ण जन्माष्टमीले धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै सत्य, धर्म, कर्तव्य र मानव कल्याणको सन्देश दिने पर्वका रूपमा पनि विशेष महत्त्व राख्दै आएको छ ।







