काठमाडौं,
भदौ १९ ।
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिंगे दाउ २’ले प्रचारप्रसारलाई तीव्रता दिएको छ । चलचित्र प्रदर्शनमा दुई साता बाँकी रहँदा निर्माण पक्षले दर्शकमाझ प्रत्यक्ष पुग्ने उद्देश्यले प्रचारको नयाँ शैली अपनाएको हो ।
चलचित्रको प्रचारका लागि नेपाल यातायातका ८० वटा गाडीमा ‘झिंगे दाउ २’को सिट कभर राखिएको छ । सिट कभरमा चलचित्रको टिजर हेर्न तथा क्यूएफएक्स चेनका हलमा टिकट काट्न सकिने दुईवटा क्यूआर कोडसमेत राखिएका छन् ।
निर्माण पक्षले आज (शुक्रबार) चलचित्रको तीज गीत सार्वजनिक गर्ने तयारी गरेको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाल लगायतका कलाकारको अभिनय छ ।
कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्मित यस चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माताका रूपमा हुनुहुन्छ । चलचित्रको पटकथा तथा संवाद परिच्छेद सेनले लेख्नुभएको हो ।







