ग्रीसमा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गर्‍यो नेपाली कला-संस्कृति प्रस्तुत

काठमाडौं,
भदौ १९ ।

ग्रीसमा नेपाली कला-संस्कृति गुञ्जिएको छ । नेपाली मौलिक कला, संस्कृति र लोकनृत्यलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुपले नेपाली कला-संस्कृति प्रस्तुत गरेको हो । संस्थापक अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्व तथा निर्देशक सीतल आचार्यको संयोजनमा ग्रीस पुगेको नेपाली सांस्कृतिक टोलीले थेसालोनिकी शहरमा आयोजित १८औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रतिनिधित्व गरेको थियो ।

नेपालसहित सात देशका कलाकार तथा सांस्कृतिक टोली सहभागी मेलामा नेपाली कलाकारहरूले नेपालको मौलिक लोककला, लोकनृत्य, परम्परा र सांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुति दिएका थिए । नेपाली कलाकारहरूको प्रस्तुतिले दर्शक तथा सहभागीहरूबीच नेपालको कला र संस्कृतिप्रति विशेष आकर्षण र उत्साह सिर्जना गरेको आयोजक पक्षले जनाएको छ ।

मेलामा नेपाली मौलिकता र परम्परा झल्काउने मारुनी, कौरा, गर्रा, यति, कालभैरव, लाखे, मञ्जुश्री, धिमाल झ्याउरे तथा थाली नृत्यलगायत प्रस्तुति प्रस्तुत गरिएको थियो । विभिन्न जातजातिका सांस्कृतिक पहिरन र परम्परागत शैलीमार्फत नेपाली टोलीले नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गरेको थियो ।

सांस्कृतिक टोलीमा संस्थापक अध्यक्ष डा.कोइराला ‘रामचन्द्र’, निर्देशक आचार्यसहित वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशकहरू केशव कोइराला र सपना महर्जन तथा कलाकारहरू पवित्रा आचार्य, कृष्ण रसाल, राजु गिरी, भवानी कोइराला, गौरी ढकाल, शान्ति कठायत र सुदनमान मुनिकार सहभागी हुनुभएको थियो । व्यवस्थापक राम श्रेष्ठ ‘मान बहादुर’ तथा समूहका आइकन कलाकार सिराज कोइरालाको समेत सहभागिता रहेको थियो ।

मेलाको क्रममा नेपाली कलाकारहरूले ग्रीसका विभिन्न स्थानको अवलोकन गर्नुका साथै सहभागी देशका कलाकार र आयोजकहरूसँग सांस्कृतिक अन्तरक्रिया तथा अनुभव आदान-प्रदान गरेका थिए ।

यस क्रममा निर्देशक सीतल आचार्यले आगामी दिनमा सरकारी तथा गैरसरकारी संस्थाबीच सहकार्य र समन्वय गर्दै यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमलाई थप विस्तार गर्ने पहल गरिने बताउनुभयो । उहाँका अनुसार सांस्कृतिक आदान-प्रदानलाई प्रभावकारी बनाउँदै नेपालको कला, संस्कृति र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न संस्थाले निरन्तर काम गर्नेछ ।

त्यस्तै, संस्थापक अध्यक्ष डा.आरसी कोइराला ‘रामचन्द्र’ले ग्रीसका स्थानीय नगरपालिका प्रमुख, मेला आयोजक तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गर्नुभएको थियो । भेटका क्रममा नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावना, कला-संस्कृतिको आदान-प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भएको थियो । डा.कोइरालाले सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा यस्ता सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

बाढीपीडितका लागि राहत संकलन
ग्रीसमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाका क्रममा नेपाली टोलीले नेपालमा हालै गएको बाढीबाट प्रभावित तथा विस्थापित नागरिकका लागि राहत रकमसमेत संकलन गरेको छ । नेपाली टोलीको पहलमा संकलित राहत रकम सम्बन्धित प्रभावित तथा पीडितलाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको संस्थापक अध्यक्ष डा.कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार संकलित रकम एक–दुई दिनभित्र सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा नेपालको कला र संस्कृति प्रस्तुत गर्नुका साथै विपत्का समयमा प्रभावित नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग जुटाउने उद्देश्यले राहत संकलन गरिएको डा.कोइरालाले बताउनुभयो । एभरेष्ट नेपाल कल्चरल ग्रुपले लामो समयदेखि नेपाली लोककला, लोकनृत्य, लोकसंगीत तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्दै आएको छ ।

समूहले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक आदान-प्रदानमार्फत नेपाल र विभिन्न मुलुकबीच आपसी सम्बन्ध, सद्भाव तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार