कान्समा जुरी पुरस्कार जितेको ‘एलिफेन्ट्स इन द फग’ आजदेखि प्रदर्शनमा

काठमाडौं,
भदौ १९ ।

शुक्रबार प्रदर्शनअन्तर्गत निर्देशक अभिनाशविक्रम शाहको डेब्यु फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ आजदेखि सार्वजनिक प्रदर्शनमा आएको छ । ७९औँ कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी पुरस्कार जितेको यो चलचित्र कान्समा छनोट भएर पुरस्कार जित्ने पहिलो नेपाली फिल्म हो ।

चलचित्रमा तेस्रो लिंगी समुदायको संघर्ष, प्रेम, पीडा र सामाजिक बहिष्करणको कथा प्रस्तुत गरिएको छ । पुष्पा थिङ लामा मुख्य भूमिकामा रहेको चलचित्रमा उहाँले पिरती नामकी ट्रान्सवुमनको भूमिका निर्वाह गर्नुभएको छ । पिरती गाउँका एक मादलवादकसँग प्रेममा परेपछि समुदाय र समाजका कारण उत्पन्न हुने द्वन्द्व चलचित्रको प्रमुख कथावस्तु हो ।

अलिज घिमिरेले पिरतीकी धर्मपुत्री अप्सराको भूमिका निर्वाह गर्नुभएको छ । अप्सरा हराएपछि पिरतीले भोग्ने पीडा र खोजीलाई पनि चलचित्रले कथाको महत्वपूर्ण पाटो बनाएको छ ।

चलचित्रले तेस्रो लिंगी समुदायमाथिको सामाजिक विभेदसँगै उनीहरूको परम्परा, संस्कृति र सामूहिक जीवनशैलीलाई समेत प्रस्तुत गरेको छ । हात्तीलाई उत्पीडित समुदायको प्रतीकका रूपमा प्रयोग गरिएको चलचित्रमा प्राकृतिक दृश्य र प्रकाशको कलात्मक प्रयोग गरिएको छ ।

चलचित्रमा दीपिका यादव, जास्मिन विश्वकर्मा, उमेश पाण्डे, आशान्त शर्मा लगायतका कलाकारको अभिनय छ । निर्देशक शाह यसअघि ‘लोरी’ नामक छोटो चलचित्रमार्फत सन् २०२२ मा कान्सको सर्ट फिल्म विधामा प्रतिस्पर्धा गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार