काठमाडौं,
भदौ १९ ।
रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको अभियान आठौं दिन पनि निरन्तर जारी राखेको छ ।
अभियानअन्तर्गत एनआरएनएले काठमाडौंमा आश्रय लिइरहेका रसुवाका बाढीपीडित परिवार तथा बालबालिकालाई आवश्यक राहत सामग्री हस्तान्तरण गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित भई नागार्जुन नगरपालिका-२ स्थित एल्लो गुम्बा र मुस्ताङ गुम्बामा आश्रय लिइरहेका परिवारलाई दैनिक जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको हो ।
एनआरएनएका तर्फबाट ६ थान कूलर, दुई थान डीप फ्रिज, २०० थान सेनेटरी प्याड, ६ प्याकेट डाइपर, ३४० थान चप्पल, ३०० थान ब्ल्याङ्केट, ३०० थान टावेल र ३०० थान सिरानी हस्तान्तरण गरिएको छ ।
उक्त राहत सामग्री गोसाइँकुण्ड गाउँपालिका-१ का वडाध्यक्ष उर्केन छिरिङ तामाङलाई हस्तान्तरण गरिएको हो । आश्रयस्थलमा रहेका परिवारको आवश्यकतालाई ध्यानमा राख्दै एनआरएनएले यसअघि पनि ६ थान कूलर र दुई थान डीप फ्रिज उपलब्ध गराएको थियो । थप आवश्यकता देखिएपछि बिहीबार पुनः सोही परिमाणमा कूलर र डीप फ्रिजसहित अन्य आवश्यक सामग्री उपलब्ध गराइएको एनआरएनएले जनाएको छ । कूलर तथा डीप फ्रिज एनआरएनएका सह-कोषाध्यक्ष अब्दुल बसिद्ले प्रायोजन गर्नुभएको हो ।
बाढी प्रभावितका लागि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट सहयोग आउने क्रम पनि जारी रहेको एनआरएनएले जनाएको छ । राहतका लागि आर्थिक सहयोग संकलनलाई थप प्रभावकारी बनाउन विभिन्न एनसीसी तथा सम्बन्धित पक्षसँग आज थप समन्वय तथा संवाद गरिएको छ ।
संवादका क्रममा बाढी प्रभावितका लागि आर्थिक सहयोग संकलनमा भइरहेको पहल र हालसम्मको प्रगतिबारे जानकारी लिँदै थप सहयोग जुटाउन एनसीसीहरूलाई आग्रह गरिएको छ ।
यसैबीच, बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालन गर्न गएको एनआरएनए नेतृत्वको चिकित्सकसहितको टोली प्रतिकूल मौसम र सडकको खराब अवस्थाका कारण बिहीबार साँझ मात्रै नुवाकोट पुगेको छ । खराब मौसम र सडक अवरुद्ध भएका कारण टोलीलाई गन्तव्यसम्म पुग्न दिनभर समय लागेपछि स्वास्थ्य शिविर भने शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।
बागमती प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा सञ्चालन हुने शिविरको नेतृत्व एनआरएनए ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र एनआरएनए आईसीसी सदस्य डा. सञ्जीव सापकोटाले गर्नेछन् । टोलीमा एनआरएनए अध्यक्ष डा. हेमराज शर्मा, उपाध्यक्ष एवं विपद् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठलगायत हुनुहुन्छ ।
स्वास्थ्य शिविरबाट करिब २५० बाढी प्रभावित परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श, औषधि वितरण, सरसफाइसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ । साथै प्रभावित समुदायलाई विपद् व्यवस्थापन तथा प्राथमिक उपचारसम्बन्धी तालिमसमेत प्रदान गरिने एनआरएनएले जनाएको छ ।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै स्वास्थ्य, सरसफाइ र पुनःस्थापनाका क्षेत्रमा समेत सहयोग पुर्याउने उद्देश्यले मानवीय सहयोग अभियानलाई निरन्तरता दिइएको एनआरएनएले जनाएको छ ।







