काठमाडौं,
भदौ ५ ।
सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा निर्माण भएको टेलिशृंखला ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । प्रष्ट मिडिया प्रालिले काठमाडौंस्थित जय नेपाल हलमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा टिजर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा प्रष्ट मिडियाले पछिल्लो समय टेलिशृंखलामा सक्रिय कलाकार तथा स्रष्टालाई सम्मान गरेको थियो । कार्यक्रममा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रूपाखेती, इन्द्र डोङ लामा, विनोद श्रेष्ठ, सुनिशा बजगाईंलगायत कलाकार तथा स्रष्टाको सहभागिता थियो ।
‘जुनी’मा कमला घिमिरे र रञ्जित पौडेल मुख्य भूमिकामा हुनुहुन्छ । विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ । बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्की हुनुहुन्छ ।
टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले चलिरहेका टेलिशृंखलाभन्दा फरक कथावस्तु र प्रस्तुति दिने प्रयास गरिएको बताउनुभयो । उहाँका अनुसार ‘जुनी’ सुरुमा ५२ एपिसोड प्रसारण हुनेछ । सिरियलको प्रसारण मिति भने तय गरिएको छैन ।
विज्ञान सापकोटा र सौगात छेत्री निर्माता रहेको सिरियलमा योगेश भण्डारी मुख्य सहायक निर्देशक हुनुहुन्छ । सञ्जय राई र विष्णु भण्डारीको छायांकन तथा विनोद बमको सम्पादन र कलर संयोजन रहेको छ । शीर्ष गीतमा सुरेश थापाको शब्द, भीम बिसीको संगीत तथा संगीत संयोजन र सुरज पण्डित तथा अस्मिता अधिकारीको स्वर छ ।







