काठमाडौं,
भदौ ५ ।
मनास्लु हिमालको पहिलो सफल आरोहणको ७०औँ वर्षगाँठका अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै नेपालस्थित जापानी राजदूतावासले नेपाल पर्वतारोहण संघ (एनएमए)लाई ‘एम्बासडर अवार्ड’ अर्थात् ‘राजदूत सम्मान’ प्रदान गरेको छ ।
नेपालका लागि जापानका राजदूत माइदा तोरुले एक समारोहबीच नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।
सम्मान ग्रहण गर्दै अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त सम्मान नेपाल पर्वतारोहण संघका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले मनास्लु हिमालको आरोहण इतिहास तथा नेपाल-जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन संघले आगामी दिनमा पनि निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मनास्लु प्लेटिनम जुब्ली कार्यक्रमलाई सफल बनाउन नेपाल पर्वतारोहण संघले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप सम्मान प्रदान गरिएको जापानी दूतावासले जनाएको छ ।
सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा सदस्य, पर्वतारोहण तथा पर्यटन क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति थियो । मनास्लु हिमालको आरोहण इतिहाससँग जोडिएको नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले आयोजित प्लेटिनम जुब्ली कार्यक्रमले दुई देशबीचको पर्वतीय सहकार्यलाई समेत उजागर गरेको छ ।







