‘तिरिमिरी झ्याइँ’ टिमलाई रामधुनी नगरपालिकाको सम्मान

काठमाडौं,
भदौ ५ ।

हास्यव्यङ्ग्यात्मक चलचित्र ‘तिरिमिरी झ्याइँ’ को छायांकन पूर्वी नेपालका पर्यटकीय स्थलमा भइरहेको छ । स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै सुनसरीको रामधुनी नगरपालिकाले चलचित्रको निर्माण टोलीलाई विशेष सम्मान गरेको छ ।

रामधुनीमा आयोजित कार्यक्रममा नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा तथा वडाध्यक्षहरूले चलचित्र टोलीलाई सम्मानपत्र र मायाको चिनो प्रदान गर्नुभयो । नगर प्रमुख चौधरीले चलचित्रको छायांकनले रामधुनीको धार्मिक तथा पर्यटकीय पहिचानलाई थप प्रचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानप्रति निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले नगरपालिकालाई धन्यवाद दिँदै कला र संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चलचित्रको छायांकन भइरहेको बताउनुभयो ।

आभास अधिकारीको कथा तथा अवधारणा र समीरको निर्देशनमा निर्माण भइरहेको चलचित्र पारिवारिक, मनोरञ्जनात्मक तथा सामाजिक कथामा आधारित छ । होराइजन मोसन पिक्चर्सको ब्यानरमा निर्माणाधीन चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं लगायतका कलाकारको अभिनय छ । ‘दले दाई’ नामले चर्चित हास्यकलाकार सुमन कोइरालाले यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्दैहुनुहुन्छ ।

चलचित्रको छायांकन विशाल कक्षपतिको रहेको छ भने गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले पटकथा तथा संवाद तयार पार्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार