काठमाडौं,
भदौ ५ ।
कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनसँगै नयाँ पुस्ताका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको उपत्यकाव्यापी छैटौँ एकल नृत्य प्रतियोगिता बुधबारदेखि धनेश्वरस्थित आफ्नै सभाहलमा सुरु भएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा उपत्यकाका ५० विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका करिब ६०० विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गर्दै प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो दिन कक्षा १ देखि ६ सम्मका विद्यार्थीले फ्रीस्टाइल र झ्याउरे नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका आगामी दिनमा कौरा, मारुनी, तीजलगायतका विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन कक्षा ९ का विद्यार्थीको प्रस्तुति र पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
प्रत्येक विधामा उत्कृष्ट १० स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरिने जनाइएको छ । कार्यक्रम संयोजक रोशन बुढाथोकीका अनुसार अडिसनमार्फत ५० विद्यालयका विद्यार्थी छनोट भएका हुन् । संस्थाका अध्यक्ष तथा नृत्य निर्देशक नारायण रिजालले नेपाली मौलिक कला, संस्कृति र नृत्यको संरक्षणसँगै नयाँ पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । शिव कैलाश कला मन्दिरले विगत २५ वर्षदेखि कला क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन तथा लोकनृत्य प्रशिक्षण दिँदै आएको छ ।







