काठमाडौं,
साउन २९ ।
साहित्यिक पत्रकार संघको आयोजनामा पूर्वराजदूत भीम उदासद्वारा लिखित संस्मरणात्मक कृति ‘विदेशमा नेपाल खोज्दै’ माथि परिचर्चा गरिएको छ । काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक विशेष कार्यक्रमबीच कृतिमाथि चर्चा गर्दै वक्ताहरूले उदासको कूटनीतिक तथा साहित्यिक योगदानको प्रशंसा गरे ।
कृति विशेषगरी गैरआवासीय नेपाली संघ (एनआरएन) स्थापनाको पृष्ठभूमिमा केन्द्रित छ । उदास म्यान्माका लागि राजदूत रहँदाका अनुभव तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्ने प्रयासका संस्मरणसमेत कृतिमा समेटिएका छन् ।
कार्यक्रममा कृतिकार उदासले आफू संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गतको सेवामा रहँदा विदेशमा रहेका नेपालीलाई कसरी संगठित गर्न सकिन्छ भन्ने सोचबाट एनआरएन स्थापनाको अवधारणा अघि बढेको बताउनुभयो । संस्थाको स्थापनामा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै उहाँले नेपाल र नेपालीको हितलाई केन्द्रमा राखेर एनआरएन स्थापना भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वअर्थमन्त्री तथा कवि-गीतकार एसपी कोइरालाले कूटनीति, कलम र कर्म भीम उदासका प्रमुख शक्ति भएको बताउनुभयो । उहाँले उदासको लेखकीय इमानदारीले ‘विदेशमा नेपाल खोज्दै’ लाई महत्त्वपूर्ण कृति बनाएको धारणा राख्नुभयो ।
इतिहासविद् प्राडा सुरेन्द्र केसीले महत्त्वपूर्ण कृति प्रकाशन भएकोमा खुसी व्यक्त गर्दै विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका साधकहरूलाई सम्मान गर्ने संस्कार अझै संस्थागत हुन नसकेको बताउनुभयो ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले एनआरएन स्थापनाको पृष्ठभूमिमा रहेर महत्त्वपूर्ण योगदान गरेका उदासको योगदानलाई संस्थाले उचित सम्मान दिन नसकेको धारणा राख्नुभयो । एनआरएनलाई सशक्त रूपमा अघि बढाउन राजनीतिको दूषित प्रभावबाट जोगाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा कृतिकार उदासलाई बधाई तथा सम्मानसमेत गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले उदासको परिचय तथा योगदानबारे प्रकाश पार्नुभएको कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । कार्यक्रम कवि तथा पत्रकार मणि लोहनीले सञ्चालन गर्नुभएको थियो । ‘विदेशमा नेपाल खोज्दै’ सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो ।







