‘मास्टर्नी’ हेर्ने दर्शकलाई इलेक्ट्रिक स्कुटर जित्ने अवसर

काठमाडौं,
साउन ३१ ।

यही भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ले दर्शकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । भदौ ३ देखि ९ गतेसम्म खल्ती एपमार्फत चलचित्रको टिकट खरिद गर्ने दर्शकमध्ये एक भाग्यशालीले ‘बीगाउस’ इलेक्ट्रिक स्कुटर जित्ने अवसर पाउने निर्माण टिमले जनाएको छ ।

‘टिकट किन्नुहोस्, फिल्म हेर्नुहोस् अनि स्कुटर जित्ने अवसर नछुटाउनुहोस्’ नारासहित ल्याइएको योजनामा खल्ती एपबाट टिकट काट्ने एक जना विजेताले स्कुटर पाउनेछन् ।

क्राइम थ्रिलर तथा फ्यामिली ड्रामा विधामा निर्माण भएको चलचित्रलाई सुवेन्दु घोषले निर्देशन गर्नुभएको हो । चलचित्रमा प्रियंका कार्की जोशी, सिम्रन खड्का, दीपकराज गिरी, दीपाश्री निरौला, सन्दीप क्षेत्री, प्रमोद अग्रहरी, ऋचा शर्मा, आर्यन सिग्देल लगायतका कलाकारको अभिनय छ ।

यस चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले एडल्ट सर्टिफिकेट दिएको छ । अब फिल्म १६ वर्षमाथिका दर्शकले मात्र हेर्न पाउनेछन् । चलचित्रको ट्रेलर, टिजर तथा ‘गुराँस फुल्दा’ गीतले सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।

आयंका फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रलाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गर्नुभएको हो । चलचित्रको कथा प्रियंका कार्कीको हो भने पटकथा शान बस्नेतले लेख्नुभएको हो । नेपालमा चलचित्रको वितरण आरआर फिल्मस्ले गर्नेछ ।

यसमा तपाइको मत

अन्य समाचार