काठमाडौं,
साउन २३ ।
निर्देशक सौरभ चौधरीको नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित हुनुभएको छ । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको थिम पोस्टर गत सोमबार सार्वजनिक गरिएको थियो ।
निर्देशक चौधरीका अनुसार चलचित्रमा सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रा चित्रण गर्नुहुनेछ । सौगात र सौरभले यसअघि ‘अगस्त्यः च्याप्टर १’मा सहकार्य गर्नुभएको थियो ।
बुद्धिसागरको कथा तथा पटकथा रहेको यस चलचित्रको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुने जनाइएको छ । ७० दिनको छायांकन तालिका बनाइएको चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालमा हुनेछ ।
प्रवेश चौधरी र निला देव निर्माता रहेको चलचित्रमा विश्वास बस्नेत (बेन) सह-निर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता हुनुहुन्छ । मानकृष्ण महर्जन डीओपी र श्री श्रेष्ठ एक्सन निर्देशक रहने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल तथा वितरक डीसीएन रहेका छन् ।







