काठमाडौं,
साउन २३ ।
सगरमाथाको साहस, जोखिम, रहस्य र जलवायु परिवर्तनको प्रभावलाई समेटिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’को फस्टलुक तथा आधिकारिक टिजर सार्वजनिक भएको छ । निर्मल श्रेष्ठ निर्देशित ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रा तथा ५० वर्ष नाघेका एक व्यक्तिले उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याएको कथा प्रस्तुत गर्छ ।
वृत्तचित्रमा सगरमाथा आरोहणका जोखिमसँगै शेर्पा समुदायको योगदान, मानव साहस र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई समेत समेटिएको छ । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्देशक श्रेष्ठ महत्वपूर्ण पात्रका रूपमा देखिनुहुन्छ ।
सन्तोष आचार्य र निर्मल श्रेष्ठले कथा लेखेको वृत्तचित्रको पहिलो नेपाल प्रिमियर भदौ ६ गते काठमाडौंमा तथा अन्तर्राष्ट्रिय प्रिमियर भदौ २८ गते हङकङमा हुने जनाइएको छ । त्यसपछि नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्च तथा सिनेमा हलमा प्रदर्शन गर्ने तयारी छ ।
वि विल राइज फाउन्डेसनले निर्माण गरेको वृत्तचित्र नेपाली र अंग्रेजी भाषामा छ । भूषण दाहालको भ्वाइस ओभर रहेको वृत्तचित्रले नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने निर्माण पक्षको अपेक्षा छ ।







