काठमाडौं,
साउन २३ ।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित चलचित्र ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार गीतको भिडियो सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा सोनम तोप्देन, उपासना सिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन, साहारा, राजु, भावना, दीपिका लगायतका कलाकार फिचर्ड हुनुहुन्छ । एसडी योगी र अञ्जु पन्तको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द तथा एसडी योगीको संगीत छ । संगीत निर्माता रिकेश गुरुङ हुनुहुन्छ । भिडियोको कोरियोग्राफी सुरेन्द्र राईले गर्नुभएको छ ।
शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा सोनम, उपासना, शिल्पा मास्केसहित बुद्धि तामाङ, माओत्से गुरुङ, क्याप्टेन विजय लामा र अन्य कलाकारको अभिनय छ ।
ओम घर्ती मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेको चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछन् ।







