काठमाडौं,
साउन २३ ।
चलचित्र विकास बोर्डले नेपालको पहिलो चलचित्र ‘आमा’बाट ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा ‘आमा’का कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको सहभागिता थियो ।
कार्यक्रममा हरिवंश आचार्य र बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई स्वागत गर्नुभएको थियो । बोर्ड अध्यक्ष दिनेश डीसीले कलाकारहरूसँग ‘आमा’ निर्माण तथा प्रदर्शनताकाका अनुभव र नेपाली चलचित्रको प्रारम्भिक यात्राबारे संवाद गर्नुभएको थियो । त्यसपछि कलाकारकै उपस्थितिमा ‘आमा’ प्रदर्शन गरिएको थियो ।
दशकौँअघि आफूले अभिनय गरेको चलचित्र पुनः ठूलो पर्दामा हेर्न कलाकारहरू उपस्थित हुँदा कार्यक्रम भावुक बनेको थियो । पुरानो नेपाली चलचित्र हेर्न नयाँ पुस्तासहित उल्लेख्य दर्शकको उपस्थिति रहेको थियो ।
बोर्ड अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली फिल्मको विशेष प्रदर्शन गर्ने घोषणा गर्नुभयो । उहाँका अनुसार विशेष प्रदर्शनबाट प्राप्त रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ ।







