विछोडिएका भुटानी परिवारलाई पुनः जोड्न पीआईबीको पहल

✍️ अर्जुन प्रधान
काठमाडौं, १० असोज ।

भुटानबाट विस्थापनपछि दशकौँदेखि एकअर्कासँग भेटघाट तथा सम्पर्कविहीन रहेका परिवारलाई पुनः जोड्न मानवीय पहुँचको बाटो खोज्ने उद्देश्यले पीस इनिसिएटिभ भुटान (पीआईबी) को प्रतिनिधिमण्डल नेपाल आएको छ ।

पीआईबीका प्रतिनिधि डा. कुमार गुरुङ शुक्रबार काठमाडौं आइपुग्नुभएको हो । नेपालमा शरण लिएका तथा पछि अमेरिका र अन्य मुलुकमा पुनर्वास भएका भुटानी परिवारका सदस्यबीच भेटघाट र नियमित सम्पर्क सहज बनाउने विषय प्रतिनिधिमण्डलको नेपाल भ्रमणको मुख्य प्राथमिकतामा रहेको जनाइएको छ ।

प्रतिनिधिमण्डलले गम्भीर बिरामी आफन्तलाई भेट्न पाउने व्यवस्था, परिवारका सदस्यको मृत्यु वा अन्त्येष्टिमा सहभागी हुन पाउने अधिकार तथा लामो समयदेखि टुटेको पारिवारिक सम्पर्क पुनःस्थापना गर्ने सम्भावनाबारे सम्बन्धित पक्षसँग छलफल गर्ने जनाएको छ ।

‘हाम्रो नेपाल मिसनको केन्द्रमा एउटा अत्यावश्यक मानवीय लक्ष्य छ- तीन दशकभन्दा बढी समयदेखि अलग भएका भुटानी परिवारलाई पुनः जोड्नु,’ पीआईबीका सहसंस्थापक तथा बोर्ड सदस्य डा. सुरज बुढाथोकीले भन्नुभयो, ‘राजनीतिक असहमति समाधान नभएसम्म मानवीय आवश्यकता पर्खिरहनुपर्ने अवस्था हुनु हुँदैन ।’

पीआईबीका सहसंस्थापक सुदर्शन प्याकुरेलले पनि पहलको केन्द्रमा परिवारका मानवीय आवश्यकता रहेको बताउनुभयो । ‘एउटी आमाले आफ्नो सन्तानलाई भेट्न पाउनुपर्छ । छोरा वा छोरीले आफ्ना अभिभावकको अन्त्येष्टिमा सहभागी हुन पाउनुपर्छ । हजुरबा–हजुरआमाले आफ्ना नातिनातिनालाई भेट्ने अवसर पाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

अमेरिकामा आधारित पीआईबीले नेपाल भ्रमणका क्रममा प्रस्तावित ‘भुटान राष्ट्रिय मेलमिलाप सम्झौता, २०२६’ तथा ‘शान्ति निर्माण तथा मेलमिलापको कार्यढाँचा’ सम्बन्धित पक्षसमक्ष प्रस्तुत गर्ने जनाएको छ । संस्थाका अनुसार प्रस्तावित दस्तावेजमा संवाद, विश्वास निर्माण, मानवीय सहकार्य तथा दीर्घकालीन मेलमिलापलाई प्राथमिकता दिइएको छ ।

सम्बन्धित पक्ष सहमत भए तटस्थ मानवीय संस्थामार्फत परिवारका सदस्यको खोजी, आवश्यक कागजातको पहिचान, घटनाको प्रमाणीकरण तथा सम्पर्क स्थापनामा सहयोग लिन सकिने प्रस्ताव पीआईबीले अघि सारेको छ ।

भुटानमा जन्मिएर नेपालमा हुर्किनुभएका र पछि अमेरिका पुनर्वास हुनुभएका डा. गुरुङले यस पहललाई नेपाल, भुटान र भुटानी डायस्पोराबीच सहकार्यको अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

‘हाम्रो दृष्टिकोण शान्तिपूर्ण र एकताबद्ध भविष्य निर्माण गर्नु हो, जहाँ भुटान र नेपालका सरकारहरू तथा भुटानी डायस्पोरा मेलमिलाप, मानवीय सहकार्य र दिगो शान्तिका लागि साझेदारीमा अघि बढ्न सकून्,’ उहाँले भन्नुभयो ।

पीआईबीका अनुसार सात सदस्यीय प्रतिनिधिमण्डलले सेप्टेम्बर २६ देखि अक्टोबर ८ सम्म काठमाडौं, झापा र मोरङमा सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज तथा भुटानी शरणार्थी समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नेछ ।

प्रतिनिधिमण्डलमा डा. गुरुङसहित कैलाश मिश्र, सुदर्शन प्याकुरेल, आरती चापागाईं, दिपिशा केसी खत्री, अनिशा थापा र डा. सुरज बुढाथोकी रहनुभएको छ ।

पीआईबीले प्रस्तावित कार्यढाँचा अहिंसा, पारस्परिक सम्मान, समावेशिता तथा नेपाल र भुटानको सार्वभौमिकता र संवैधानिक संस्थाप्रतिको सम्मानमा आधारित रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार