काठमाडौं,
असोज १० ।
हाल देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा रहेको बलियो न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने महाशाखाको अनुमान छ ।
उक्त मौसमी प्रणालीको प्रभावले हाल देशभर अधिकांश भू-भागमा बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश भू-भागमा बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा तथा मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै, कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भू-भागमा बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा हुनसक्ने जनाइएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका अधिकांश स्थानमा तथा बागमती प्रदेशको तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि वर्षा हुने सम्भावना छ ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।






