पहिचान पुरस्कारका लागि १६ कृतिको सूची सार्वजनिक

काठमाडौं,
असोज ३ ।

पहिचान पुरस्कार कोषले २०८१ र २०८२ सालमा प्रकाशित १६ वटा कृतिलाई पहिचान पुरस्कारका लागि संक्षिप्त सूचीमा राखेको छ ।

कोषले शुक्रबार दुवै वर्षका लागि आठ-आठ वटा उत्कृष्ट कृतिको सूची सार्वजनिक गरेको हो । कोषमा दर्ता भएका कृतिमध्येबाट छनोट समितिले उत्कृष्ट कृति छनोट गरेको संस्थापक नरेश काङमाङ राईले जानकारी दिनुभयो ।

२०८१ सालका लागि छनोट भएका कृतिमा श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’, सुरज रानाको कविता संग्रह ‘जब कविता निस्कन्छ जुलुसमा’, डा. चित्र माबोको कथा संग्रह ‘डोलीभर्ना’, कुमारी लामाको निबन्ध संग्रह ‘दर्ज्यु संलाप’, शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’, जुनू रानाको कविता संग्रह ‘रातो नदी’, खुपेन सुनुवारको कविता संग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ र राधिका कल्पितको कथा संग्रह ‘सम्मोहन’ छन् ।

त्यस्तै, २०८२ सालका लागि ललित विष्टको कथा संग्रह ‘उत्कर्ष’, केदार संकेतको कथा संग्रह ‘अन्तिम साँझ’, खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’, क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’, भुपिनको निबन्ध–नियात्रा संग्रह ‘मध्यको उज्यालो’, राज बान्तावाको उपन्यास ‘माइला दमाई’, सीमा आभासको उपन्यास ‘महायुग’ र उमा सुवेदीको उपन्यास ‘परिधि’ संक्षिप्त सूचीमा परेका छन् ।

कोषका संस्थापक राईका अनुसार संक्षिप्त सूचीमा परेका कृतिमध्ये २०८१ र २०८२ सालका लागि एक–एक पुस्तकलाई पहिचान पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागि अन्तिम कृति छनोटको प्रक्रिया भने कोषले तोकेको मूल्यांकनका आधारमा गरिने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार