काठमाडौं,
असोज ३ ।
नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदैछ ।
२०७२ साल असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउँदै आएको छ ।
दिवसका अवसरमा काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । संविधान दिवसको मुख्य समारोह काठमाडौंमा आयोजना हुनेछ, जसमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहनेछ ।
प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले पनि शुभकामना आदानप्रदान, अन्तरक्रिया, दीप प्रज्वलनलगायत कार्यक्रम आयोजना गरेका छन् ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र मौलिक हकलाई संस्थागत गरेको छ। संविधान जारी भएको एक दशक पुग्न लाग्दा यसको कार्यान्वयन, उपलब्धि र चुनौतीबारे बहससमेत हुँदै आएको छ ।
दिवसका अवसरमा संविधानको संरक्षण, कार्यान्वयन र संस्थागत विकास गर्दै लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।






