✍️ अर्जुन प्रधान
ह्यारिसबर्ग, २८ भदौ ।
समुदायको सेवा, नेतृत्व विकास तथा सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान पुर्याएका १३ जनालाई बुद्धखरी फाउन्डेसनले ‘द कम्युनिटी अपलिफ्ट अवार्ड-२०२६’ प्रदान गरेको छ । ‘सम्मानसाथ मानवताको सेवा, नेतृत्वको कदर, परिवर्तनको प्रेरणा र समुदायको उत्थान’ भन्ने मूल नारासहित आयोजित समारोहमा समुदायका अगुवा, स्वयंसेवक, प्रायोजक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो ।
कार्यक्रममा पेन्सिलभेनिया राज्यकी सिनेटर प्याटी किम, राज्य प्रतिनिधि जस्टिन डगलस, वर्ल्ड अफेयर्स काउन्सिल अफ ह्यारिसबर्गकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा. जोयस एम. डेभिस, गभर्नरको एसियाली अमेरिकी मामिलासम्बन्धी सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन एम. कारु तथा भुटानी कम्युनिटी इन सेन्ट्रल पेन्सिलभेनियाका अध्यक्ष युबराज कोइरालालगायतको उपस्थिति थियो ।
फाउन्डेसनका संस्थापक अध्यक्ष तथा निर्देशक टीकाराम ढुंगानाले स्वागत मन्तव्य राख्दै बुद्धखरी फाउन्डेसन सन् २०२२ को मेमा स्थापना भएको र त्यसयता समुदाय सशक्तीकरण तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै आएको बताउनुभयो ।
‘यो पुरस्कार कसैको व्यक्तिगत सफलता मात्र मनाउने कार्यक्रम होइन,’ ढुंगानाले भन्नुभयो, ‘आफ्नो स्वार्थभन्दा माथि उठेर समुदायको भलाइका लागि निरन्तर योगदान गर्ने व्यक्तित्वको पहिचान, सम्मान र प्रेरणाको अभियान हो ।’
समाजमा प्रचार वा प्रशंसाको अपेक्षा नगरी समय, श्रम, ज्ञान र स्रोत समुदायका लागि खर्च गर्ने धेरै व्यक्ति रहेको उल्लेख गर्दै उहाँले त्यस्ता व्यक्तिको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्दा उनीहरूप्रति कृतज्ञता व्यक्त हुनुका साथै अरूलाई पनि सामाजिक सेवामा अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो ।
ढुंगानाले सम्मानित व्यक्तिहरू व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही समुदायको दीर्घकालीन हितका लागि काम गरिरहेको उल्लेख गर्दै सेवाको संस्कार, सहकार्य र आपसी विश्वास विस्तार गर्न पुरस्कार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिनेटर प्याटी किमले समुदायमा सकारात्मक प्रभाव पार्ने व्यक्तिको सम्मानले सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने बताउनुभयो । उहाँले यस्ता सम्मानले समाजका लागि मौन रूपमा काम गरिरहेका व्यक्तिको योगदानलाई सार्वजनिक रूपमा चिनाउने र नयाँ पुस्तालाई नेतृत्व तथा सेवाका लागि प्रेरित गर्ने धारणा राख्नुभयो ।
राज्य प्रतिनिधि जस्टिन डगलसले नागरिक सहभागिता र समुदायप्रतिको जिम्मेवारीले समाजलाई सबल बनाउने बताउनुभयो । ‘आफ्नो ठाउँ, आफ्ना छिमेकी र समुदायका मानिसप्रति जिम्मेवार बन्नु नै असल नेतृत्वको सुरुआत हो,’ उहाँले भन्नुभयो ।
फाउन्डेसनले तीन चरणमा गरी १३ जनालाई सम्मान गरेको जनाएको छ । सम्मानित हुनेमा राज्य प्रतिनिधि जस्टिन डगलस, इन्स्पायर टु एक्सप्लोरका कार्यक्रम निर्देशक नील एच. भण्डारी, एसियन रिफ्युजीज युनाइटेडका सहकार्यकारी निर्देशक रोबिन गुरुङ, स्वतारा नगरपालिका आयुक्त विनिता पुरी राई, समाज टाइम्सका प्रधान सम्पादक विष्णुहरि घिमिरे, लेखक तथा समाजसेवी कर्ण गुरुङ, आईएसएसए प्रमाणित व्यक्तिगत प्रशिक्षक तथा अमेरिकी सेनाका वरिष्ठ एनसीओ दिल्लीराम दाहाल, ओएचआरसीमा नेपाली कक्षाका संस्थापक शिक्षा निर्देशक अभि न्यौपाने, ग्लोबल भुटानी हिन्दू संगठनका अध्यक्ष तथा धार्मिक एवं सामाजिक अभियन्ता कमल धिमाल, टेनेसीमा भुटानी समुदायका अध्यक्ष सुकमान सुब्बा, बामा संस्थापक अध्यक्ष विकास राई, न्यु ह्याम्पसायर राज्य संसद सदस्य सुरज बुढाथोकी र पूर्वभुटानी शरणार्थी तथा रेनोल्ड्सबर्ग, ओहायोबाट पहिलो निर्वाचित अधिकारी भुवन प्याकुरेल रहनुभएको छ ।
आयोजकका अनुसार सम्मानित व्यक्तिहरूले समुदायको हित, सामाजिक सेवा, नेतृत्व, सहयोग तथा प्रेरणादायी कार्यमार्फत समाजमा सकारात्मक प्रभाव पारेका छन् । सम्मान ग्रहण गर्दै उनीहरूले सामाजिक सेवामा आफूले गर्दै आएका कार्य तथा अनुभवबारे संक्षिप्त धारणा राखेका थिए ।
भुटानी कम्युनिटी इन सेन्ट्रल पेन्सिलभेनियाका अध्यक्ष युबराज कोइरालाले समुदायको उन्नतिका लागि संस्थागत सहकार्य अपरिहार्य रहेको बताउनुभयो । ‘एक जना व्यक्तिको सेवाले एउटा परिवारलाई सहारा दिन सक्छ, तर संगठित समुदायको सहकार्यले समग्र समाजलाई परिवर्तन गर्न सक्छ,’ उहाँले भन्नुभयो ।
गभर्नरको एसियाली अमेरिकी मामिलासम्बन्धी सल्लाहकार आयोगका कार्यकारी निर्देशक रजिन एम. कारुले एसियाली अमेरिकी तथा आप्रवासी समुदायका आवाजलाई मूलधारसँग जोड्न समुदायसेवीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । आफ्ना अनुभव र क्षमतालाई समाजको हितमा प्रयोग गर्ने व्यक्तिहरू नै समुदायका वास्तविक प्रेरक शक्ति भएको उहाँको भनाइ थियो ।
समारोहमा सहभागीलाई सम्मानित व्यक्तिहरूलाई बधाई दिन, आपसी सम्पर्क विस्तार गर्न तथा सामुदायिक सहकार्यलाई थप बलियो बनाउन आग्रह गरिएको थियो । कार्यक्रममा सामूहिक तस्वीर, परिचयात्मक भेटघाट तथा भोजन कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
समापन मन्तव्यमा फाउन्डेसनका अध्यक्ष ढुंगानाले सहयोगी, स्वयंसेवक, प्रायोजक, अतिथि तथा सहभागीप्रति आभार व्यक्त गर्दै सबैको सानो योगदानले पनि ठूलो परिवर्तन सम्भव हुने बताउनुभयो ।
फाउन्डेसनले ‘सँगै उठौँ’ भन्ने सन्देशसहित सामाजिक सेवा, सम्मान र सामुदायिक एकताको अभियानलाई आगामी दिनमा थप विस्तार गर्ने जनाएको छ । कार्यक्रम फाउन्डेसनका स्वयंसेवक तथा लगानी सल्लाहकार प्रतिनिधि धिरेन चौहानले सञ्चालन गर्नुभएको थियो ।







