नेपालमा बाढीपहिरोको क्षतिप्रति अमेरिकामा नेपाली समुदायको ऐक्यबद्धता

अमेरिका,
भदौ २९ ।

नेपालमा हालै आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै अमेरिकाको म्यासाचुसेट्सस्थित नरउडमा नेपाली समुदायले शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको छ ।

हिमालयन लायन्स क्लब, डिस्ट्रिक्ट ३३के, म्यासाचुसेट्सको आयोजनामा नरउड टाउन कमनमा सम्पन्न कार्यक्रममा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै प्रभावितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो । सोही अवसरमा हिमालयन लायन्स क्लबले विपत्तिमा परेका नेपालीहरूको सहयोगका लागि २ हजार अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गरेको छ ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर क्रिष्टिन, डिस्ट्रिक्ट डिग्नेटरिज स्टिभन तथा डा. उषा शर्मा, पूर्व डिस्ट्रिक्ट गभर्नर म्याथु र नरउड टाउन मेनेजर टोनीलगायतको उपस्थिति थियो ।

त्यसैगरी, प्याबफोनका संस्थापक अध्यक्ष विष्णुमणि आचार्य, निवर्तमान अध्यक्ष विरोचन नेपाल, बोस्टन मेट्रोवेस्ट नेपाली कम्युनिटीका अध्यक्ष सुरेश ढकाल, बीडीए म्यासाचुसेट्स स्टेट कमिटीका अध्यक्ष राम थापा, क्रिएटिभ वुमन ग्रुपका अध्यक्ष सानु बर्मा तथा हिमालयन लायन्स क्लबका उपाध्यक्ष विजय शर्मालगायत क्लबका पदाधिकारी एवं बोर्ड अफ डाइरेक्टर्सका सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा स्थानीय नेपाली तथा अमेरिकी समुदायका विभिन्न व्यक्तित्वहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण बीडीए अमेरिकाका केन्द्रीय अध्यक्ष तथा हिमालयन लायन्स क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्तले गरेका थिए । क्लबका अध्यक्ष थानीरत्न कँडेलले सहभागी सबैलाई धन्यवाद दिँदै विपत्तिको घडीमा नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अध्यक्ष कँडेलले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो । उहाँले क्लबका सदस्यहरूबाट संकलित रकममा थप सहयोग गरी कुल दुई हजार अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा पठाउने घोषणा गर्नुभएको हो ।

दीप प्रज्ज्वलनका क्रममा सहभागीहरूले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरेका थिए । कार्यक्रमको नरउड टेलिभिजनले समेत विशेष कभरेज गरेको थियो ।

जन्मभूमि नेपालमा परेको विपत्तिको पीडा सातासमुद्रपारि रहेका नेपाली समुदायले समेत अनुभूत गरिरहेको सन्देश दिँदै आयोजित शोकसभा तथा दीप प्रज्ज्वलनले प्रवासमा रहेका नेपालीहरूको जन्मभूमिप्रतिको आत्मीयता, मानवीय संवेदना र विपत्तिको समयमा एकजुट हुने भावनालाई उजागर गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार