काठमाडौं,
भदौ २९ ।
आगामी असोज २ गते शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाजु-भाइ तथा देउरानी-जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमाको खोजीजस्ता पारिवारिक विषयलाई प्रस्तुत गरिएको छ ।
ट्रेलरले चलचित्रको कथावस्तु र पात्रबीचको सम्बन्धलाई रोचक ढंगले प्रस्तुत गरेकाले दर्शकमा फिल्मप्रतिको उत्सुकता बढ्ने देखिएको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई केन्द्रमा राखिएको चलचित्रले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको निर्माण पक्षको भनाइ छ ।
कपनगढी सिनेमा प्रालि तथा फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको हो । चलचित्रमा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । रोशनी अधिकारी देउजा र नितु श्रेष्ठ देउजा सह–निर्माता हुनुहुन्छ ।
विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको यस चलचित्रमा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र रोशन श्रेष्ठको एक्सन निर्देशन छ । चलचित्रका प्रोडक्सन हेड ईश्वर घिमिरे हुनुहुन्छ ।
चलचित्रमा केकी अधिकारी र आँचल शर्मासहित महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय छ । परिच्छेद सेनको पटकथा तथा संवाद रहेको चलचित्रमा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन रहेको छ । चलचित्रमा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत यतिवेला चर्चामा छ ।







