काठमाडौं,
भदौ १९ ।
स्रष्टा होमनाथ खनालको तेस्रो कृति ‘हराएको साथी’ लोकार्पण गरिएको छ । मिलाप मासिक र साहित्यिक पत्रकार संघको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजित विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा उक्त कृति लोकार्पण गरिएको हो । साहित्य, कला र संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रमुख अतिथि महाकाव्यकार दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, मिलाप मासिकका सम्पादक कृष्ण भुसाल, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, विशिष्ट कलाकार लय संग्रौला, विश्व कीर्तिमानी संगीतकार तथा उपन्यासकार सन्तोष श्रेष्ठ, स्रष्टा होमनाथ खनाललगायतका मञ्चासिन व्यक्तित्व र अग्रभागमा रहनुभएका सम्पूर्ण व्यक्तित्वले संयुक्त रूपमा ‘हराएको साथी’ लोकार्पण गर्नुभएको थियो । सो अवसरमा स्रष्टा खनाललाई सम्मानसमेत गरिएको थियो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण मिलाप मासिकका सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सुरुवात भने भावपूर्ण श्रद्धाञ्जलिबाट गरिएको थियो । यही भदौ १० गते बुधबार रसुवा-नुवाकोटमा आएको बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति उपस्थित सबैले एक मिनेट मौनधारण गरी श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै स्रष्टा सन्तोष श्रेष्ठले ‘हराएको साथी’लाई रहस्यमय तथा प्रेरणादायी कृतिका रूपमा व्याख्या गर्नुभयो । उहाँका अनुसार कृतिले पाठकलाई कथाको प्रवाहसँगै जीवनका विभिन्न पाटो र अनुभूतिसँग जोड्ने प्रयास गरेको छ ।
कृतिकार होमनाथ खनालले आफ्नो जीवनयात्राका क्रममा देखेका, भोगेका र अनुभूति गरेका विविध विषयलाई कथाका रूपमा प्रस्तुत गरेको बताउनुभयो । जीवनमा भेटिएका पात्र, सम्बन्ध, घटना र अनुभवहरूले नै सिर्जनाको आधार तयार पारेको उल्लेख गर्दै उहाँले आफ्ना अनुभूतिलाई साहित्यिक रूप दिएर पाठकमाझ ल्याएको सुनाउनुभयो ।
प्रमुख अतिथि महाकाव्यकार खेमनाथ दाहालले ‘हराएको साथी’ कुनै एउटा पात्र हराएको कथा मात्र नभएको धारणा राख्नुभयो । उहाँले कृतिले पाठकलाई आफ्नै जीवनमा हराएका सम्बन्ध, स्मृति, सपना र सम्भावनाहरूको खोजीमा निस्कने यात्रातर्फ डोर्याउने बताउनुभयो । दाहालले कृतिको सम्भावना अझ फराकिलो रहेको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ विस्तृत रूपमा प्रस्तुत गर्न सकिने सुझावसमेत दिनुभयो । उहाँले स्रष्टा खनालको सिर्जनात्मक यात्राको प्रशंसा गर्दै साहित्यिक क्षेत्रमा निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले ‘हराएको साथी’को प्रकाशनले स्रष्टा होमनाथ खनालको सिर्जनात्मक यात्रालाई थप उचाइ दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले खनालको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिँदै आगामी दिनमा थप कृतिको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष गोपिकृष्ण न्यौपाने, गंगालाल अस्पतालका पूर्वप्रमुख तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा। युवराज लिम्बू, गायिका तथा कलाकार शीला खनाल, विशिष्ट कलाकार लय संग्रौला, वरिष्ठ साहित्यकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतले कृतिकार खनाललाई शुभकामना दिनुभएको थियो । वक्ताहरूले साहित्य सिर्जनामा व्यक्तिगत भोगाइ, अनुभूति र सामाजिक परिवेशको महत्व रहने उल्लेख गर्दै ‘हराएको साथी’ले पाठकलाई आफ्ना स्मृति र सम्बन्धतर्फ फर्केर हेर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए ।
‘हराएको साथी’ स्रष्टा होमनाथ खनालको तेस्रो साहित्यिक कृति हो । यसअघि उहाँका ‘यात्रा जिन्दगीको’ र ‘शब्दसंगम’ पाठकमाझ आइसकेका छन् । तेस्रो कृतिसम्म आइपुग्दा खनालले जीवनका विविध अनुभव, अनुभूति र भोगाइलाई साहित्यिक अभिव्यक्तिका रूपमा निरन्तर प्रस्तुत गर्दै आउनुभएको छ ।

मिलाप पब्लिकेशनले प्रकाशन गरेको ‘हराएको साथी’का सम्पादक अमृतविरल हुनुहुन्छ भने डिजाइन तथा छपाइको जिम्मेवारी मोवाइलकिताव प्रा।लि।ले लिएको छ । कृतिको मूल्य ३९९ रुपैयाँ निर्धारण गरिएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्यकार लेखनाथ पोख्रेल, वरिष्ठ गायिका तथा कलाकार कविता आले, अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहाल, अकिसिडेन्टल पब्लिक स्कुलका संस्थापक दीपक विष्ट, साहित्यकार डीआर राई, शिवराम रायमाझी, सिर्जना खनाल, प्रकाश महत, नवीन्द्रराज ढुंगेल, तारा अधिकारीलगायत साहित्य, कला, संगीत तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।
समारोहमा कृतिको लोकार्पणसँगै स्रष्टा खनालको सिर्जनात्मक यात्राको सम्मान र ‘हराएको साथी’प्रति साहित्यिक क्षेत्रको चासोसमेत देखिएको थियो । जीवनका क्रममा हराउँदै जाने सम्बन्ध, स्मृति, सपना र सम्भावनालाई कथात्मक ढंगले प्रस्तुत गरिएको कृतिका रूपमा ‘हराएको साथी’ले पाठकसँग आफ्नै जीवनका अनुत्तरित प्रश्न र पुराना सम्झनाको संवाद स्थापित गर्ने अपेक्षा गरिएको थियो ।







