काठमाडौं,
भदौ १९ ।
सुरुवाती व्यापारिक सुस्तता र रसुवाको बाढीपहिरोको प्रभावलाई चिर्दै नीता ढुङ्गाना निर्देशित चलचित्र ‘पार्वती’ले घरेलु बक्स अफिसमा आक्रामक पुनरागमन गरेको छ । प्रदर्शनको पहिलो र दोस्रो दिन कमजोर व्यापार गरे पनि तेस्रो दिनदेखि सकारात्मक ‘माउथ पब्लिसिटी’का कारण चलचित्रको व्यापार उकालो लागेको हो ।
सुरुवातमा न्यून सो पाएको चलचित्रले दर्शकको चाप बढेसँगै अहिले देशभरका हलमा ११० भन्दा बढी सो पाएको निर्माण पक्षले जनाएको छ । भारतीय चलचित्र ‘टक्सिक’को कमजोर प्रतिक्रिया र खस्किँदो व्यापारको फाइदा पनि ‘पार्वती’लाई भएको बताइएको छ ।
अटिजम प्रभावित दिदीप्रति भाइको प्रेम र पारिवारिक सङ्घर्षमा आधारित चलचित्रको भावुक कथावस्तुलाई दर्शकले रुचाएका छन् । निर्देशक तथा अभिनेत्री ढुङ्गानाका अनुसार दर्शकको सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा अपेक्षाभन्दा राम्रो उत्साह थपिएको छ । निर्माण टोली यतिबेला कैलाली, कञ्चनपुरलगायत पश्चिम नेपालका हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको छ ।
हरिहर अधिकारीको निर्माण रहेको चलचित्रमा ढुङ्गानासँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतका कलाकारको अभिनय छ ।







