✍️ अर्जुन प्रधान
ओमाहा, नेब्रास्का
अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदायलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले ‘भूटनीज संयुक्त वार्षिक सम्मेलन-२०२६’ आगामी सेप्टेम्बर ११ देखि १३ सम्म अमेरिकाको नेब्रास्का राज्यस्थित ओमाहामा आयोजना हुने भएको छ । ‘भुटानी हृदयहरूलाई एकताबद्ध गर्दै, पुस्ताहरूलाई सशक्त बनाउँदै’ भन्ने नारासहित आयोजना हुन लागेको तीनदिने सम्मेलन ग्रेट इभेन्ट्स सेन्टर, ७४४० क्राउन प्वाइन्ट एभेन्यु, ओमाहामा हुनेछ ।
सम्मेलनमा ग्लोबल भुटानीज अर्गनाइजेसन (जिबिओ), भुटानीज अमेरिकन म्युजिक एसोसिएसन (बिएएमए), ग्लोबल फाउन्डेसन अफ अमेरिका (जिएफए), ग्लोबल भुटानीज लिटरेरी अर्गनाइजेसन (जिबिएलओ) तथा स्थानीय आयोजक भुटानीज कम्युनिटी इन नेब्रास्का (बिएसएन) सहभागी हुने आयोजक समितिले जनाएको छ ।
आयोजकका अनुसार सम्मेलनको मुख्य उद्देश्य भुटानी समुदायमा संस्थागत सहकार्य विस्तार गर्नुका साथै नेतृत्व विकास, शिक्षा, भाषा, साहित्य, संगीत, संस्कृति, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा साझा पहललाई अघि बढाउनु हो ।
जिबिओका अध्यक्ष डीबी राईले शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई सम्मेलनको प्रमुख प्राथमिकताका रूपमा राखिएको बताउनुभयो । ‘शिक्षा, नेतृत्व विकास र सामुदायिक सहकार्यलाई केन्द्रमा राखेर संस्थाहरूबीचको सम्बन्ध अझ बलियो बनाउन यो सम्मेलन महत्वपूर्ण हुनेछ,’ उहाँले भन्नुभयो ।
जिबिएलओका अध्यक्ष पतालो अन्तरेले सम्मेलनलाई सामान्य जमघटभन्दा फरक रहेको बताउनुभयो । उहाँका अनुसार सम्मेलन भुटानी समुदायको एकता, संस्कृति र पहिचानसँग जोडिएको अभियान हो । भाषा र साहित्य समुदायको पहिचानका महत्वपूर्ण आधार भएकाले नयाँ पुस्तालाई त्यससँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यस्तै, बिएएमए का अध्यक्ष विश्वाज गुरुङले संगीत र कलामार्फत सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्य रहेको बताउनुभयो । सम्मेलनमा विभिन्न पुस्ताका कलाकारलाई एउटै मञ्चमा ल्याउने योजना रहेको उहाँको भनाइ छ ।
जिएफए का अध्यक्ष प्रजा ढकालले समुदायको समग्र विकासका लागि सांस्कृतिक गतिविधिसँगै स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा समेत संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो ।
तीन दिन विविध कार्यक्रम
सम्मेलनको पहिलो दिन सेप्टेम्बर ११ मा विभिन्न स्थानबाट ओमाहा आउने अतिथि तथा प्रतिनिधिका लागि स्वागत समारोह तथा रात्रिभोज आयोजना गरिनेछ ।
सेप्टेम्बर १२ मा संस्थागत बैठक, प्रस्तुति तथा अन्य सामुदायिक कार्यक्रम सञ्चालन हुनेछन् । सोही दिन साँझ ‘ज्वाइन्ट ग्रान्ड म्युजिकल इभेन्ट’ आयोजना गरिने कार्यक्रम संयोजक भीम गुरुङले जानकारी दिनुभयो ।
सम्मेलनको अन्तिम दिन सेप्टेम्बर १३ मा संयुक्त भुटानी मेला आयोजना हुनेछ । मेलामा खेलकुद, सांस्कृतिक प्रस्तुति, व्यवसाय तथा सामुदायिक स्टल र प्रतिभा प्रदर्शनलगायतका कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ । सोही दिन साँझ नेब्रास्कामा रहेका भुटानी महिलाहरूको सहभागितामा तीज उत्सवसमेत आयोजना गरिनेछ ।
स्थानीय आयोजक बिसिएनले सम्मेलनमा सहभागी हुन विभिन्न स्थानबाट ओमाहा आउने प्रतिनिधि तथा अतिथिका लागि आवश्यक आतिथ्यको व्यवस्था गर्ने जनाएको छ ।
आयोजक समितिले अमेरिका तथा विश्वका विभिन्न स्थानमा रहेका भुटानी समुदाय, संघ–संस्था, कलाकार, युवा तथा परिवारलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ ।
सम्मेलनका आयोजन संयोजक पतालो अन्तरे र कार्यक्रम संयोजक भीम गुरुङ रहेका छन्। सम्मेलनका लागि ८१७-२१०-७१६२ र ४०२-३१२-१४३५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । ‘म त मर्छु कि क्याहो’का सीताराम कट्टेल र कुञ्जना घिमिरे आर्ट पार्टनरका रूपमा जोडिनुभएको छ ।







