चिनियाँ ब्याट्री निर्माता र नेपाली व्यवसायीबीच भेटघाट हुँदै

ललितपुर,
भदौ  ८ ।

नेपालमा ब्याट्रीको प्रयोग र आयात बढ्दै गएको सन्दर्भमा चिनियाँ ब्याट्री निर्माता कम्पनीका प्रतिनिधि र नेपाली आयातकर्ता तथा व्यवसायीबीच प्रत्यक्ष भेटघाट तथा छलफल हुने भएको छ । ललितपुरस्थित एन्जल ट्रेड सेन्टरको कार्यालयमा अगस्ट २३ देखि २६ सम्म हुने कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट ब्याट्री आयात, थोक बिक्री, वितरण तथा विद्युतीय ऊर्जा क्षेत्रमा आबद्ध व्यवसायी सहभागी हुने जनाइएको छ ।

छलफलमा नेपाली बजारको आवश्यकता, उपभोक्ताको माग, ब्याट्रीको गुणस्तर, क्षमता, मूल्य तथा आपूर्ति व्यवस्थापनबारे चिनियाँ निर्मातालाई जानकारी गराइने जनाइएको छ । साथै लिथियम, सौर्य, विद्युतीय सवारीका ब्याट्री, ब्याट्री सेल तथा व्यवस्थापन प्रणालीलगायत उत्पादनबारे समेत छलफल हुने बताइएको छ ।

कार्यक्रमले नेपाली बजारअनुकूल उत्पादन विकास, नियमित आपूर्ति तथा दीर्घकालीन व्यापारिक साझेदारीका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ । बढ्दो ब्याट्री प्रयोगसँगै प्रयोग भइसकेका ब्याट्रीको सङ्कलन, पुनःप्रयोग र पुनर्चक्रण व्यवस्थापनका विषयमा समेत अनुभव आदानप्रदान हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार