साङ्गीतिक संघको सम्मान तथा पुरस्कार अर्पण

काठमाडौं,
असार ८ ।

नेपाल साङ्गीतिक संघले काठमाडौंमा विश्व सङ्गीत दिवसको अवसर पारेर कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व सङ्गीत दिवस एवम् साङ्गीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न सात कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरेको हो ।

कार्यक्रममा विशिष्ट योगदान पुर्‍याएका अमर स्रष्टाका स्मृतिमा स्थापना गरिएको पुरस्कार तथा सम्मान अन्तर्गत अमर स्रष्टा शिवशंकर मानन्धर राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक मुरली धरलाई सम्मानित गरिएको थियो । त्यस्तै अमर स्रष्टा पुष्प नेपाली राष्ट्रिय साङ्गीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ कला साधक कुमार बस्नेतलाई सम्मानित गरिएको थियो । फत्तेमान राज भण्डारी राष्ट्रिय सांगीतिक युवा सम्मान तथा पुरस्कार (रु.२५०००) बाट लोकप्रिय पप गायक धिरज राईलाई सम्मानित गरिएको थियो ।

त्यस्तै लोकप्रिय निर्देशक तथा कलाकार विकास घले गुरुङले आफ्नो आमा तथा बुबाको नाममा स्थापना गरेको ‘लाल समुन्द्रा बहुप्रतिभाशाली साङ्गीतिक सम्मान तथा पुरस्कार’ (रु.२५०००) बाट महजोडीलाई सम्मानित गरिएको थियो ।
त्यसैगरी नेपाल साङ्गीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार (रु.२५०००) बाट वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापालाई राष्ट्रिय सम्मान अर्पण गरिएको थियो भने नेपाल साङ्गीतिक संघ राष्ट्रिय कला पत्रकारिता सम्मान तथा पुरस्कार (रु.५०००) बाट वरिष्ठ पत्रकार शान्तिप्रियलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा विगतदेखि नै नेपाल साङ्गीतिक संघलाई सहयोग पुर्‍याउँदै आएका लोकप्रिय गायक गणेश पराजुली, गीतकार डब्बु क्षेत्री, कलाकार विक्रमजंग शाह, समाजसेवी विनोद कुमार तामाङ, रमन बस्नेत, नवराज तामाङलाई कदरपत्र प्रदान गरिएको थियो ।

विश्व सङ्गीत दिवस एवं सम्मान तथा पुरस्कार कार्यक्रमकै अवसर पारेर दश जना स्रष्टा कलाकारलाई आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । जसमा गीतकार किरण के. उप्रेती, गीतकार निरोज भट्ट, गायक सन्तु थापा, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, मोडल नारायण ढकाल, निर्देशक पूर्णबहादुर थापा, निर्देशक दीप गुरुङ, सङ्गीतकार दिपक शर्मा, सङ्गीत संयोजक आमोश तामाङलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।

नेपाल साङ्गीतिक संघका अध्यक्ष मिलन मोक्तानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष आशिष अबिरलले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रम महासचिव सुमन पण्डितले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सम्मानितहरुको तर्फबाट वरिष्ठ गायक कुमार बस्नेतले मन्तव्य दिँदै सङ्गीतिक संघ स्थापनाको सन्दर्भमा कलाकारहरूलाई प्रष्ट पार्नुभएको थियो । त्यस्तै नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको तर्फबाट शाखा अधिकृत लालबहादुर बस्नेतले स्रष्टाहरुको नैतिक, बौद्धिक र आर्थिक अधिकारबारे प्रष्ट पार्नुभएको थियो ।

नेपाल साङ्गीतिक संघको आयोजनामा भएको यो ‘विश्व सङ्गीत दिवस’ मा नेपाल प्रतिलिपि रजिष्ट्रारको कार्यालय, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सङ्गीत उद्योग संघ नेपाल, राष्ट्रिय सङ्गीतकर्मी संघ, म्युजिक नेपाल, साधना कला केन्द्र एवम् म्युजिक खबरको सहआयोजना रहेको थियो ।

कार्यक्रमलाई नेपाल वायुसेवा निगम, नबिल बैंक लि., सिभिल बैंक लि., सेन्चुरी बैंक लि., श्री लालीगुराँस बहुद्देश्यीय सहकारी संस्था लि.सिटि एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजन गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार